सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

नेपाली महिला ‘पढ्छन् पनि-उड्छन् पनि’

नेपाली-महिला-उड्छन्-पनि

काठमाडौं–त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट धनगढी जादै गरेकी कृष्णा ओझालाई पुस्तक उपहार दिइयो । बुद्ध एयरबाट यात्रा गर्दे गरेकी उनले पहिलोपटक विमान चढेवापत पुस्तक उपहार पाएकी हुन् ।

‘यसअघि कहिल्यै यस्तो थाहा थिएन,’ उनले अचम्भित हुँदै भनिन्, ‘पुस्तक पाउँदा खुशी लागेको छ ।’ पुस्तक भएपछि हवाइ यात्राका क्रममा अध्ययन गरेर समय बिताउन सहज हुने उनको प्रतिक्रिया थियो ।

यसरी हवाइ यात्रा गरेवापत पुस्तक उपहार पाउने उनी पहिलो नारी हुन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सांग्रिला बुक्स र बुद्ध एयरको सहकार्यमा हवाइ यात्रा गर्नेलाई उपहार दिने अभियान सुरु भएसँगै उनले पुस्तक पाएकी हुुन् । ‘नेपाली महिला उड्छन् पनि, पढ्छन् पनि’ अभियान अन्तर्गत बुद्ध एयरबाट यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार दिइएको छ।

त्यस्तै पुस्तक उपहार पाएकी सुरक्षा थापाले पनि खुशी जनाइन् । ‘यो राम्रो सुरुआत हो, महिला स्रस्टाका लागि न्याय भएको छ,’ उनले भनिन्, ‘पुस्तक पाएपछि त्यत्तिकै फालिदैन, पढ्ने संस्कृतिको विकास हुन्छ ।’ हवाइ यात्राका क्रममा समय कटाउन यस्ता पुस्तकले सहज बनाइदिने उनले बताइन् ।

बुद्ध एयरबाट यात्रागर्ने महिलालाई निःशुल्क पुस्तक दिइएको हो। सांग्रिला बुक्सले प्रकाशन गरेका १३ महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक बिषयका आख्यान तथा गैरआख्यानका पुस्तक निशुल्क वितरण गरिएको हो । बुद्ध एयरसँगको यस सहकार्यबाट नारी श्रष्टाका कृतिहरुले व्यापकता पाउने र पठन सँस्कृतिलाई पनि सघाउ पुग्ने विश्वास सांग्रिला बुक्सले लिएको छ ।

यात्रुहरुले पुस्तक पाउँदा खुशी लागेको बताउँदै यस्तो प्रयासले नेपाली साहित्यमा टेवा पुग्ने प्रतिक्रिया दिए। नेपालमा यसअघि कहिल्यै यस्तो नदेखेको बताउँदै यात्रुहरुले पुस्तक अविष्मरणीय उपहार भएको जनाए ।