मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

११ महिनापछि केपी ओली पार्टी कार्यालयमा

तस्बिर : सरोज बैजु/इकागज

काठमाडौँ  : केपी शर्मा ओली अहिले जुन कुर्सीमा आसिन छन् त्यसको सम्पूर्ण श्रेय पार्टी हो । पार्टीका कार्यकर्ता हुन् । ती कार्यकर्तालाई परिचालित गर्ने काम धुम्बाराहीस्थित नेकपा एमालेको मुख्यालयबाट हुन्छ । पार्टी नेतृत्वकर्ताको हैसियतले त्यहीँबाट ओलीले नेता कार्यकर्ता परिचालित गर्नुपर्ने हो । तर, त्यही पार्टीका अध्यक्ष ओली बल्ल-तल्ल ११ महिनापछि पार्टी कार्यालयमा झुल्किए । त्यो पनि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको जोडबलका कारण । ओली पछिल्लो पटक गत वर्षको चैत पहिलो हप्तामा पार्टी कार्यालय गएका थिए ।

पार्टीमा एकलौटी निर्णय गरेर झलनाथ खनाल-माधव नेपाल समूहलाई हस्तक्षेप गरेका ओली सोमबार पार्टी कार्यालयमा पुगेका हुन् ।  ‘बालुवाटारमा छलफल गर्ने भनेर खबर आयो,’ माधव नेपाल समूहका नेता तथा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘बालुवाटारमा हुँदैन पार्टी कार्यालयमै छलफल गरौँ भनेपछि उहाँ बालुवाटार आउनु भएको हो ।’ 

बल्ल तल्ल पार्टी कार्यालय गएका ओलीले आधा घण्टा माधव नेपाल पक्षका नेताहरुलाई कुराइदिए । निर्धारित ११ बजे नै नेपाल कार्यालय पुगेका थिए भने ओली त्यसको आधा घण्टापछि मात्रै । 

त्यस अघि ओली माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको अध्यक्ष हुँदा आलोपालो बैठक गर्नेक्रममा धुम्बाराही पुगेका थिए । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्‍वरी रिजालले पनि लामो समयपछि ओली पार्टी कार्यालय आएको स्वीकारे । ‘आज छलफलका लागि लामो समयपछि आउनु भयो,’ रिजालले भने, ‘पहिले उहाँ आफ्नै च्याम्बर या तलको हलमा छलफलका लागि बस्‍नुहुन्थ्यो । आज म कार्यालय सचिव भएर आएपछि बनाएको माथिको नयाँ हलमा बस्‍नु भयो । नेताहरुसँग त्यहीँ छलफल गरेर फर्कनु भयो ।’ 

रिजालले ओली अघिल्लो वर्ष कार्यालय गएको बेला र अहिले कार्यालयको भौतिक संरचनाको स्वरुपहरु परिवर्तन भएको पनि बताए । ११ महिनापछि कार्यालय पुगेर ओलीले आफ्नै पार्टीका नेताहरुसँग छलफल गरे । छलफल भने सकरात्मक रुपमा टुंगिएन । 

माधव नेपाल पक्षले गत फागुन २८ गते ओलीले एकलौटी गरेका निर्णय खारेज गर्न माग गरेपछि ओलीले त्यसलाई ठाडै अस्वीकार गरे । वरिष्ठ नेता नेपालले त ओलीसँगको छलफल अन्तिममा टर्रो भएको प्रतिक्रिया दिए । ‘छलफलको सुरुवात राम्रो भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो’ बैठकपछि नेपालले भने ।  

ओली पक्षले पनि नेपाल समूहले चैत ४-५ गते आह्वान गरेको राष्ट्रिय भेला रोक्नुपर्ने कुरा उठायो । तर, नेपाल पक्षले पनि ओली पक्षको आग्रह स्वीकार गरेन । उल्टै धुम्बाराहीबाट निस्किएको नेपाल समूहले बानेश्वारमा आएर अर्याल होटलमा आफ्नो पक्षको भेला गर्‍यो । उक्त भेलामा नेता नेपालले ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरे । त्यस्तै सोही भेलाले चैत ४-५ गते आह्वान गरेको भेला नरोक्ने र ओलीले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गर्ने चियापान कार्यक्रममा पनि नजाने निर्णय गरेको छ ।