बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

कर्णालीमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुँदै

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित चुली युवा क्लवले यही चैत ११ देखि १४ गतेसम्म प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । 

कर्णालीमा पहिलोपटक सर्वाधिक पुरस्कार राशीसहित भलिबल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष महेश जिसीले बताए । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनगरी क्लवले प्रदेशमा खेलकुदको प्रवद्र्धनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको छ । 

‘कर्णाली प्रदेशमा खेलकुदको क्षेत्रमा लगानी कम गरिएको छ र जसको कारण खेलकुद क्षेत्रको राम्रोसँग विकास हुन सकेको छैन’ क्लवका अध्यक्ष जिसीले भने, ‘सरकारी लगानी नहुँदा विभिन्न निजी क्षेत्रबाट सहयोग जुटाउन बाध्य भएका छौ ।’ सरकारी निकायबाट सहयोग नहुँदा खेलकुद क्षेत्र फस्टाउन नसकेको जिसीले बताए ।

जिसीका अनुसार प्रतियोगिताका लागि देशैभरबाट टिम दर्ता गर्न सकिने बताए । प्रतियोगितामा प्रथम हुनेलाई  दुई लाख, द्धितीयलाई साढे एक लाख, तृतीय एक लाख र सान्त्ववना पचास हजार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडीलगायतका अन्य विभिन्न विधामा उत्कृष्ट हुनेलाई पनि सात हजारदेखि १५ हजारसम्म नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

‘भलिबल खेल्न चाहनेहरूका लागि यो सुनौलो अवसर हो । यो कर्णालीमा भएका खुला भलिबलमध्ये सबैभन्दा ठूलो पुरस्कार राशीसहितको पुरुष भलिबल प्रतियोगिता हो ।’ क्लवका अध्यक्ष जिसीले भने, ‘आगामी चैत तीन गतेदेखि चैत महिनाको १० गते साँझ पाँच बजेसम्म टिम दर्ता गर्न सकिनेछ ।’  टिम दर्ताको लागि १० हजार शुल्क लाग्ने रेफ्री संयोजक अम्मरबहादुर चन्दले बताए । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरीले यस प्रतियोगिताले प्रदेशको गौरव बढाउनमा सहयोग गर्ने बताए । यस्ता खालका कार्यक्रममा सरकारी निकायले पनि सहयोग गर्न जरुरी रहेको उनको भनाइ थियो ।