मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

कांग्रेसको मौनता र माओवादीको अलमलले अन्यौलमा जसपा

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई जसरी पनि सरकारमा ल्याउने कसरतमा लागेको बताए पनि उनले अझै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् । एमालेले अन्यसँग मिलेर सरकार बनाउलान भन्‍ने डर माओवादीमा देखिन्छ । 

उनले कांग्रेस, जसपमा र माओवादी मिलेर सरकार बनाउने विषयमा सभापति शेरबहादुर देउवा र जसपा शिर्ष नेताहरूसँग पटक-पटक छलफल गरिसकेको भए पनि उनी आफै स्पष्ट हुन सकेका छैनन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट बाहिर नराखेसम्म मुलुकको विकास हुन सक्दैन भन्दै सत्ता सहकार्य गर्न जसपा र कांग्रेसलाई दाहाललेआग्रह गरिरहेका छन् । दम्भी व्यक्तिको निकास भनेकै सत्ताच्यूत भएकाले त्यसका लागि कांग्रेस, माओवादी र जसपा सहकार्य अपरिहार्य रहेको धारणा दाहालको छ । 

उनले कांग्रेस र जसपासँगको भेटवार्तामा यस्ता कुरा राखिरहेको उनकै नेताहरूले बताएका छन् । उनले आफू नेतृत्व नलिएर भए पनि सत्ताबाट ओलीलाई विदा गर्न पर्नेमा जोड दिएका छन् । माओवादी-जसपा, कांग्रेस-जसपा र माओवादी-कांग्रेस बैठक एकपछि अर्को भइरहेका पनि छन् । 

सबै वार्तामा माओवादीले यो कुरा उठाए पनि अझै ओलीलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । र, कांग्रेस आफ्नो कुरा राख्‍ने भन्दा पनि सुन्‍ने काम मात्र गरिरहेको भेटघाटमा सहभागीहरू बताउँछन् । सबै भेटवार्तामा कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउनु पर्ने कुरा उठेका छन् । 

एकले अर्कालाई नेतृत्व लिन पनि आग्रह गरिरहेका छन् । तर त्यसको अगुवाइ कांग्रेसको निर्णयमा भरपर्ने भन्‍न थालिएको छ । कांग्रेस ओलीसँगको सत्ता समिकरणमा नभए पनि सभापति देउवा ओलीका खास मित्र रहेको भन्दै यताको सहकार्य भरपर्दो मोडमा अझै पुग्‍न नसकेको माओवादीका एक नेताले बताए । 

कांग्रेसभित्र पनि ओलीको विकल्प खोज्‍न नेतृत्व लिएर अघि बढ्न सुझाव देउवालाई आएको छन् । देउवाले त्यो सुझावबारे छलफल गर्ने भनेर पन्छिएका छन् । उनी आफ्नो कुरा भनिरहेका छैनन् । सुन्‍ने काम मात्र गरिरहेका छन् । सहकार्यमा देउवाको मौनता र माओवादीको ओलीलाई नै समर्थनले गर्दा जसपा अचम्मित छ ।

आगामी सहकार्य भनेको नयाँ सरकार बनाउने विषयमा मात्र होइन आगामी चुनावसम्म गरिने सहकार्य हो भन्दै माओवादी लागि परेको भए पनि उनीहरू अझै स्पष्ट नभएको धारणा जसपा र कांग्रेसको छ । सहकार्यबारे सबैतर्फ छलफल भएको तर कुनै निष्कर्षमा भने नपुगिएको जसपा अध्यक्ष महन्त ठाकुरले बताए । उनले एमाले, कांग्रेस र माओवादी सबैसँग छलफल भइरहेको तर निष्कर्ष निकाल्ने काम अझै नभएको बताए ।  

हुनत जसपा भित्र नै पनि यही सरकारमा जाने  कि अर्को सहकार्य गर्ने आफ्नै प्रकारको अन्याैल छ । सबैका आ-आफ्नै अन्यौलताले ओली सरकारलाई भने फाइदा नै भएको छ । यसलाई  चिर्न सहज भने नभएको आंकलन सबै तहका नेताहरूले गरिरहेका छन् ।