मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

माओवादी केन्द्रीय समिति बैठक : यी विषयमा हुँदैछ छलफल

काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्‍न लागेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने स्थायी समिति सदस्य पोखरेलले जानकारी दिए । ‘संसद्, सरकार, पार्टी विभाजन, अदालतको फैसला, कतिपय अवस्थामा पार्टी नेताहरूलाई गर्ने कारबाही गर्ने एजेण्डा तय भएका छन्,’ स्थायी समिति सदस्य पोखरेलले इकागजसँग भने, ‘अन्य एजेण्डाहरूमा पनि छलफल हुन्छ ।’

माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । पोखरेलले व्यक्तिगत रूपमा नेताहरूलाई सोधिएको स्पष्टिकरणको पत्र पठाइसकिएको र सरकारी कार्यालय शनिबार भएकाले बन्द रहेको हुँदा आज पठाइने जानकारी दिए । 

माओवादीबाट अहिले गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापासहित २३ नेतालाई शुक्रबार केन्द्रीय सदस्य मनोनित गरेका थिए । एमाले केन्द्रीय सदस्यमा मनोनित भएका ती नेताहरूलाई दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न स्पष्टिकरण पत्रमा भनिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । उनीहरूले चित्तबुझ्दो जवाफ नदिएमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठकबाट कारबाही गर्ने तयारी माओवादीको छ ।

 माओवादीले कारबाही गर्‍यो भने उनीहरुको सांसद पद पनि स्वतः जाने कानुनी व्यवस्था छ । एमाले अध्यक्ष ओलीले माओवादीका नेताहरू गृहमन्त्रीसमेत रहेका थापा बागमती प्रदेश र भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइसकेका छन् ।