मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

माओवादीले मन्त्रीबाट फिर्ता र स्पष्टिकरणको पत्र आइतबार पठाउने

पत्रमा दल त्याग गरेको हो कि होइन, स्पष्ट पार्न भनिने

काठमाडौँ : नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठकको निर्णय अनुसार आइतबार मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको र स्पष्टिकरण सोधिएको पत्र पठाउने भएको छ । माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमालेमा गएका २३ जनालाई स्पष्टिकरण सोध्‍ने र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्पष्टिकरण र मन्त्रीबाट फिर्ताको पत्र तयार भएको बताए । केन्द्रीय कार्यालय स्रोतले पत्र तयार भएको जानकारी दियो । माओवादीबाट गृहमन्त्रीमा रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक राखेर मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । थापा माओवादी केन्द्रको नेतृत्व गर्दै र भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए । अन्य ५ मन्त्री भने ५ पुसमा प्रतिनिधि सभामा विघटन गरेपछि बनाएका थिए । 

पत्रमा नेताहरूले दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न भनिएको कार्यालय स्रोतले बतायो । माओवादीमा नफर्किए कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ । त्यसो भएमा उनीहरूको संसद पद जान्छ । 

शुक्रबार ओलीले आफ्नो समूहको बैठक राखेर थापासहितका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै थापालाई बागमती प्रदेश र भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएका थिए । 

माओवादीले आइतबार ११ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।