पहिले प्रौढशिक्षा, अहिले विद्यालय

पोखरा : बहुदल वा पञ्चायत भन्ने विवाद चरम अवस्थामा थियो । हाल गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ आइ.एससीको पढाइ छाडेर सक्रिय राजनीतिमा लागेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेमा आबद्ध उनी भूमिगत हुन अहिलेको पोखरा-१६ अर्मलाकोट आसपासको ठाउँ पुगेका थिए । त्यो बेला जनतामा पढाइ-लेखाइको खासै चिन्ता थिएन ।
जनमत संग्रहमा पञ्चायतविरुद्ध चेतना फैलाउन प्रधानपञ्चहरुकै आसपास जानुपर्थ्यो । सो बेला गुरुङसँग एउटा उपाय थियो, प्रौढशिक्षा । `प्रौढशिक्षा पढाउँछु´ भन्दै गाउँ पसेका गुरुङ बुढाबुढीलाई मात्र अक्षर सिकाएनन्, बालक र युवायुवतीलाई पनि सिकाए ।
४ दशक अगाडि जहाँ गुरुङले प्रौढशिक्षा दिएका थिए, त्यही ठाउँमा उनी बिहिबार पुगे । शिक्षा दिन होइन, शिक्षालयको समुद्घाटन गर्न । मन्त्री किरण गुरुङले बिहिवार पोखरा-१६ अर्मलाकोटको श्री सीता आधारभूत विद्यालयको २ कोठे भवनको उद्घाटन गरेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाइ, शिक्षाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको थियो । गत असार १८ गते कार्यसम्झौता भएपछि २२ लाख ९८ हजार रुपैयाँ लागतमा २ कोठे भवनसँगै शौचालय निर्माण गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफू ४ दशकपछि अर्मला फर्किएको र शिक्षाकै कार्यक्रममा सरिक हुन पाउँदा गर्वान्वित भएको बताए । आफ्नो भुमिगत जीवन सम्झँदै उनले शिक्षा आफ्नो राजनीतिक जीवनको आधारशिला बनेको बताए । `म प्रौढ शिक्षा पढाउने भन्दै यहाँ बसें, तपाईंहरूले स्विकारिदिनु भयो, अनि मैले राजनीतिक काम पनि गर्न पाएँ,´ उनले भने ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भुपाल गरुङले विद्यालयले अर्मलाकोटको भविष्य फेर्ने आशा प्रकट गरे । विद्यालयले सिर्जनात्मक र रचनात्मक शिक्षा दिने र विद्यार्थीहरुमा पढाइको भोक बढाउन सक्नुपर्ने उनको तर्क थियो । `अहिले अर्मला सानो छ, विद्यालय ठूलो बनाउन परेछैन भन्नुहुँदैन, पछि जनसंख्या बढ्दै जान्छ, भविष्यलाई सोचेर विद्यालयको संरचना बढाउँछौँ,´ उनले भने ।
जिल्ला कार्यान्वयन इकाइ कास्कीका प्रमुख लालप्रसाद पोखरेलले कास्कीमा विद्यालय पुनर्निर्माणको काम तिव्र रुपले बढिरहेको दाबी गरे । कास्कीका सबै स्थानीय तहमा विद्यालयसँगै अन्य भौतिक संरचना निर्माण गरिएको पोखरेलले बताए ।
पोखरेलका अनुसार जिल्लामा अहिले १ सय १२ वटा ४ कोठे विद्यालय भवन निर्माण भैरहेको छ । यस्तै १९ वटा ३ कोठे भवन, ६० वटा २ कोठे भवनसँगै ६६० कक्षाकोठा निर्माणको काम भैरहेको पोखरेलले जानकारी दिए । ११४ वटा शौचालय र ६५ खानेपानीको योजनामा जिल्ला इकाइले काम गरिरहेको पोखरेलले बताए ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया