मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

ओलीले एकलौटी गरेको निर्णय मान्‍दैनौँ : भीम रावल

काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति  तोक्ने, प्रदेश इन्चार्जको चयन तथा  केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । 

एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको शुक्रबार साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए ।

सो समूहको बैठकपछि नेता रावलले भने, 'एकलौटी तवरले गरिएको निर्णय मान्‍न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्‍ने विषयमा थप छलफल गर्छौँ ।' प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।