सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

नेविसंघका संस्थापक सदस्य थापाको निधन

काठमाडौँ : नेपाल विद्यार्थी संघ(नेविसंघ)का संस्थापक केन्द्रीय सदस्य लक्ष्मणसिंह थापाको निधन भएको छ । नेपाली कांग्रेस गुल्मीका पूर्वउपसभापति समेत रहेका थापाको बुधबार ७२ वर्षको उमेरमा गुल्मी दरवार गाउँपालिकास्थित निवासमा निधन भएको का‌ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

थापा नेपाल शिक्षक संघ गुल्मीका संस्थापक अध्यक्ष र वीपी विचार समाजको वर्तमान जिल्ला अध्यक्षसमेत थिए । थापाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै का‌ग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनले कांग्रेसले धरोहर गुमाएको उल्लेख गरेका छन् । 

देउवाले थापाको निधनमा दुःख व्यक्त गर्दै थापाको आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।