आयोगद्वारा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज (निर्णयसहित)
ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको माओवादीलाई मान्यता

काठमाडौँ : निर्वाचन आयोगले आयोगमा १४५ नम्बरमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले दल खारेजीको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई गराउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार सर्वोच्च अदालतको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै कायम रहेको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई दिने निर्णय पनि आयोगले गरेको छ ।
दुई दल मिलेर नेकपा बनेपछि दर्ता भएका अध्यक्ष गोपाल किराँती रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष सन्ध्या तिवारीलाई १५ दिनभित्र नयाँ नामसहित उपस्थित हुन जानकारी गराउने निर्णय पनि आयोगले गरेको छ ।
यस्तो छ आयोगको निर्णय
मिति: २०७७।११।२५
प्रेस विज्ञप्ति
काठमाडौं, फागुन २५ गते।
सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७।११।२३ मा भएको आदेश/फैसला कार्यान्वयन गर्ने गराउने सम्बन्धमा आज मिति २०७७।११।२५ गते बसेको आयोगको बैठकबाट देहाय बमोजिम निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।
1. सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भई बनेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएको हुँदा आयोगमा दर्ता नम्बर १४५ मा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको राजनीतिक दल खारेज गर्ने र सो दल खारेजीको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड" लाई गराउने साथै सोही फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको ब्यहोराको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड" लाई दिने।
2. आयोगको मिति २०७५।०२।२३ को निर्णयले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल दर्ता भएको नेपाल राजपत्र खण्ड ६८) काठमाण्डौ, जेठ २३ गते, २०७५ साल (अतिरिक्ताङ्क ८ (अ) मा प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
3. सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले निर्वाचन आयोगमा साविकमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्था (मिति २०७५।०२।२३ गते भन्दा अगाडिको) मा कायम रहेको हुँदा सो ब्यहोराको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
4. मिति २०७५।0२।२३ गते अगाडि आयोगमा दल दर्ता नम्बर ३२ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र दल दर्ता नम्बर ३७ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल दर्ता रहेकोमा आयोगको मिति २०७५।0२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल रिट निवेदक ऋषिराम कट्टेल विपक्षी यस आयोग समेत भएको रिट नं ०७५-wo-०५१७ को उत्प्रेषण परमादेश मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको आदेशले ती दुई दलहरुबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशले बदर भई ती दुवै राजनीतिक दलहरू अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने हुँदा मिति २०७५।२।२३ गते पछाडि आयोगमा दल दर्ता नम्बर १५३ मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र दल दर्ता नम्बर १६० मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक दुवै राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, 2073 को दफा ६(1)(ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, 2074 को नियम ९ बमोजिम राजनीतिक दलका रूपमा कायम रही रहन सक्ने नदेखिँदा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को हकमा नयाँ नाम प्रस्ताव गरी 15(पन्ध्र) दिन भित्र सुधार सहितको विवरण आयोग समक्ष पेश गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री सन्ध्या तिवारीलाई जानकारी गराउने।
5. आयोगको मिति २०७५।0२।२३ को निर्णयानुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल विरूद्ध रिट निवेदक ऋषिराम कट्टेल विपक्षी यस आयोग समेत भएको रिट नं ०७५-wo-०५१७ को उत्प्रेषण परमादेश मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले आयोगको मिति २०७५।0२।२३ को निर्णय र सो निर्णय उपर परेको उजुरी निवेदन सुनुवाई गरी सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५।0७।0९ गतेको निर्णय फैसला समेत उत्प्रेषणको आदेशबाट बदर भएकोले आयोगका यी दुवै निर्णय बदर भए पश्चात निर्वाचन आयोगमा साविकमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अब उप्रान्त अलग अलग राजनीतिक दलका रूपमा एकीकरण हुनु अगाडिको साविककै अवस्थामा कायम रहेको व्यहोराको जानकारी संघीय संसद सचिवालय, काठमाण्डौ, सातवटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई गराउने।
6. आयोगको मिति २०७५।0२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, 2074 बिपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने।
(राजकुमार श्रेष्ठ)
सहसचिव एवम् प्रवक्ता

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

प्रतिक्रिया