सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

कारबाही नगर्दा बलात्कार बढ्यो : उपराष्ट्रपति

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा दिनानुदिन बलात्कारका घटनाहरू बढेको बताएका छन् । उनले दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय भएको बताए ।

नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोहमा बोल्दै उनले अन्तराष्ट्रियस्तरमा मुलुकको छवि धुमिल भइरहेको बताए ।  ‘कुनै पनि समाजमा महिलाहरूको अवस्था कस्तो छ भन्‍ने आधारमा उक्त समाजको प्रकृति र चरित्र थाहा हुन्छ,’ उनले भने । 

उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताए । ‘संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ‘, उपराष्ट्रपति पुनले भने, ‘विश्‍वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ ।’उनले महिलाहरूद्वारा सञ्चालित उद्दमहरूको प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे । कृषि तथा जलविद्युत क्षेत्रमा जस्तै महिला सञ्‍चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । 

महिलाद्वारा सञ्‍चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्‍न झन्झट बेहोर्नुपरेको बताए । ‘जति दिने हो, बिना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गदैछौँ’, उनले भने । अध्यक्ष श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामानहरू प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रह गरे । 

नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताए । महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनले बनाए । 

महिलाहरूले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न उनले माग गरे । नेपाल महिला चेम्बरले महिलाहरूको क्षमता अभिवृद्धिमा कार्य गरिरहेको उल्लेख गर्दै उनले नीतिगत सुधारमा पनि आफूहरूले आवाज उठाइरहेको बताए । 

कार्यक्रममा नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्क पनि उपस्थिति थियो । 

यो अवसरमा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको पनि उद्घाटन गरे । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ ।

व्यवसायी सम्मानित
१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले पाँचजना महिला व्यवसायीहरूलाई सम्मान गरेको छ । सम्मानित हुने महिला व्यवसायीहरूलाई प्रमुख अतिथि उपराष्ट्रपति पुनले सम्मानपत्र प्रदान गरे । 

आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल सम्मानित भए । यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ सम्मानित भए । एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ । यस्तै महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गरे ।