सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

जनताको कुरालाई दबाउन खोजिए फेरि लड्छौं : चन्द

काठमाडौँ : नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनताका कुरालाई दबाउन खोजिए आफूहरू पुनः संघर्ष गर्न तयार रहेको बताएका छन् । सोमबार कपिलबस्तुमा आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले जनताको आवाजलाई राज्यले रोक्न खोजे आफूहरू पुन: लड्ने बताए । 

‘प्रतिबन्ध गलत थियो । हामी बन्दुक बोक्न हिडेका होइनौ,’ उनले भने, ‘बन्दुक नै चाहिन्छ भनेका पनि होइनौं । बन्दुकद्वारा सत्य कुरा दबाइ दिन्छौ भन्नुभयो भने । बन्दुकद्वारा जनतालाई रोक्छु भन्नु भयो भने । हामी आवाजले तोड्छौं । आवाजले तोड्न मान्नु भएन भने बन्दुकद्वारा तोड्दिन्छौं । हामीले भनेकै त हो । आज पनि भन्छु म यो कुरा, यदि जनताको कुरालाई बन्दुकद्वारा दबाउन खोजियो भने फेरि लड्छौं नि कहाँ छोड्छौ । त्यो कुरा । अन्याय देखेपछि कराउनुपर्छ । हामी मारिनुपर्ने मान्छे होइनौ । प्रतिबन्ध गर्नुपर्ने मान्छे होइनौं ।’

नेकपामा लाग्ने कोही पनि मान्छे भोकै र बेरोजगार बन्नु नपर्ने उनले बताए ।  ‘हामी भन्छौं । कोही पनि अब हामीसँग हिड्यो भने भोकै मर्दैन । त्यो बेरोजगार बन्दैन  । नारा त केपी जीले पनि दिनु भएको छ । कोही भोको छैन, कोही नांगो छैन । तर, मानिसह’ हास्छन् । तर हामीले भनेका छौ । हाम्रो पाटीमा लाग्ने मान्छे कोही बेरोजगार हुनुपर्दैन । हामी बदल्छौ नेपाल,’ उनले भने ।  

तीन बुँदे सहमतिअनुसार हिरासतमा रहेको नेता कार्यकर्ता छोड्न सरकारले ढिला गर्न नहुनेमा उनले जोड दिए । ‘हामीले तीन बुँदे सहमति गर्‍यौ,’ उनले भने, ‘सरकारले मुद्दा खारेज गर्छ । प्रतिबन्ध हटाउँछ । हाम्रा साथी आजसम्म पनि जेलमा हुनुहुन्छ । यो कुरा ढिला गर्नु हुँदैन । यो लागु गरौं ।’

उनले वर्तमान व्यवस्थाका विषयमा एक पटक जनतालाई निर्णय गर्ने अधिकार दिनुपर्ने बताए । त्यसका लागि वर्तमान व्यवस्था ठीक वा वैज्ञानिक समाजवादी व्यवस्था ठीक भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने उनको भनाइ छ । 

‘अब राजनीतिक नयाँ ढंगले सोच्नुपर्छ । संसदीय व्यवस्था ४० वर्ष चल्यो । कहिल्यै पनि राम्रो भएन,’ उनले भने, ‘यो व्यवस्था नै श्रमिक वर्गको विरोधी व्यवस्था हो । पूँजीवादी व्यवस्था हो । यो पैसा भए सवै हुन्छ । प्रचण्ड बाबुरामलाई पनि उस्तै बनायो यो व्यवस्थाले । यो व्यवस्थालाई फेर्ने अधिकार जनतालाई दिनुपर्छ । अहिलेसम्म हामीले व्यक्ति चुन्यौं । पूजीवादी ठीक कि यो भन्दा राम्रो वैज्ञानिक व्यवस्था ठीक भनेर जनतालाई निर्णय गर्न दिनुपर्छ । दिनुपर्छ । हामीले भनेका छौं । सवै जनताले भोट हाल्ने । मान्छेको होइन दलको होइन । कुन व्यवस्था ठीक । त्यो अधिकार दिउ न ।’ आफूहरू सरकारमा नजाने पनि उनले प्रष्ट पारे ।