सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सर्वोच्चको फैसलाले ब्युँतिने भए पुरानै दलहरू

निर्वाचन आयोगका लागि ‘सुखद हार’

काठमाडौँः तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता नदिने सर्वोच्च अदालतको फैसलाले पुनः दुईओटा ठूला कम्युनिष्ट पार्टीहरू ब्युँतने बाटो खुलेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई धारबीच पार्टीको आधिकारिकताका लागि भइरहेको विवादका बीच एकीकृत पार्टीलाई उक्त नाम दिने निर्वाचन आयोगले नै मुद्दा हारेपछि विभागको थाप्लोको बोझ उसका लागि ‘सुखद हार’ मा परिणत भएको छ । नेकपाका ओली र दाहाल–नेपाल दुवैले निर्वाचन आयोग समक्ष आ–आफ्नो दाबी प्रस्तुत गरिरहँदा निर्वाचन आयोगमा असमञ्जस्यता पैदा भएको थियो । 

पार्टीको नाम, झण्डा र चुनाव चिन्हको लडाइँमा रहेका ओली र दाहाल–नेपाल समूहको विवाद अदालतको फैसलाले विवादलाई किनारा लगाइदिएको छ । 

यसले आम निर्वाचनको मुखका एकीकरण भएका दुई ठूला कम्युनिष्ट पार्टीहरू नै ब्युँताउने बाटो खुलेको छ । 

दुई पार्टी एकीकरण भएपछि दुबैले छाडेका नेकपा एमाले र माओवादी केन्द्र भने निर्वाचन आयोगमा दर्ता भैसकेका छन् । नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओलीका साथीको छोरी सन्ध्या तिवारीले दर्ता गरेकी हुन् भने माओवादी केन्द्र पूर्व मन्त्री एवं तत्कालीन माओवादी नेता गोपाल किराँतीले पुनर्गठन गरेका हुन् । 
पार्टीको नामले वैधानिकता गुमाएपछि सत्तारुढ दल नामविहीन भएको छ ।