बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

निगमको बागमती प्रादेशिक कार्यालय स्तरोन्नतिको पहिलो चरण सम्पन्न

काठमाडौँः नेपाल आयल निगमको थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालयको स्तरोन्नतिको पहिलो चरण सम्पन्न भएको छ । प्रादेशिक कार्यालय स्तरोन्नतिको पहिलो चरण अन्तर्गत टीएफएल सेड निर्माण, २०० ट्यांकर र ट्रक पार्किङ गर्न सकिने पार्किङ यार्ड, अग्नि नियन्त्रक प्रणाली (फायर फाइटीङ सिस्टम) फ्लो मिटर तथा सिभिल वक्र्स अन्तर्गत रिइन्फोसर््ड कंक्रिट एक्सेस रोड र चौघेरा (बाउण्डरी वाल) को उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् । 

चन्द्रागिरी नगरपालिकाको ३ नम्बर वडामा पर्ने निगमको थानकोट डिपो २०५८ सालदेखि सञ्चालनमा आएको हो । १०६ रोपनी क्षेत्रमा फैलिएको निगमको यस डिपोमा ८,४०० किलो लिटर डिजेल, ६०७० किलो लिटर पेट्रोल तथा ७६० किलो लिटर मटितेल भण्डारण क्षमताका ट्यांकहरू रहेका छन् । 

यस डिपो अन्तर्गत यस क्षेत्रका १० जिल्लामा १८० पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदै आइरहेको छ । थानकोट डिपोका लागि भारतको बरौनी तथा अमलेखगञ्जबाट डिजेल, पेट्रोल र मटितेल ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । बागमती प्रदेश क्षेत्रीय कार्यालय अन्तर्गत १० प्रतिशतले खपत वृद्धि भइरहेको छ । अहिले दैनिक औसत ७०० किलो लिटर पेट्रोल, ९०० किलोलिटर डिजेल, सरदर औसत ८ किलोलिटर मटितेल बिक्री वितरण हुने गरेको छ । 

निगमले वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत समावेश भएको यस डिपोको आधुनिकीकरण र स्तरोन्नति तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सुरक्षा उपाय एवं प्रविधि अपनाई रिइन्जिनियरिङ्ग परियोजनाको प्रथम चरण सम्पन्न भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । ‘कार्यालय परिसरको स्तरोन्नति, सेड, पार्किङ यार्डका अतिरिक्त, अग्नि नियन्त्रक प्रणाली र फ्लो मिटरका अतिरिक्त डिपो सुरक्षाका लागि बाहिरि पर्खाल तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निगम र चन्द्रागिरी नगरपालिकाको संयुक्त साझेदारीमा पूर्वतर्फ रिइन्फोसर््ड कंक्रिट सडक निर्माण गरिएको छ,’ उनले भने । 

उद्घाटन कार्यक्रममा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्यो, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, निगम सञ्चालक समितिका पदाधिकारी तथा सरकारका सह–सचिवहरू, निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, निगमका अनय पदाधिकारीहरू, पेट्रोलियम डिलर्स एशोसिएसनका पदाधिकारीहरू उपस्थित थिए ।