बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

किसान सूचीकरण राष्ट्रिय अभियान सुरु

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरि मर्यादित पेशाको रूपमा स्थापित गराउन सरकारले तिब्र ढंगले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा शनिबार आयोजित समारोहमा किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि पेशालाई मर्यादित बनाउन आम्दानीमा वृद्धि गर्नुपर्ने बताए । कृषि आधुनिकीकरणलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ ।

कृषिको आधुनिकीकरणबिना किसानको आम्दानी बढ्न नसक्ने तथा आम्दानीवाला पेसा नभएसम्म मर्यादित पनि हुन नसक्ने ओलीले बताए । कृषि उपजबिना मान्छेको जीवन नचल्ने उल्लेख गर्दे उनले ठूलो पेशा,ठूलो ओहोदा भन्‍ने विषय सबै वेकारको भएको बताए । 

उनले भने, 'कृषि उपजबिना खाद्यान्‍न वा खाद्यपदार्थ विना त मान्छेको जीवन नै चल्दैन । त्यसकारण ठूलो पेशा, ठूलो पद, ओहदा बेकारको अंहकार हो । सबै कुरा चल्ने कृषिबाट हो । कृषिको आधुनिकीकरणका हरेक महिना गेयर चेञ्‍ज गरिरहेका छौ । अझ तिब्र गतिका साथ अघि बढ्नका लागि । कृषि रणनीति कार्यान्वयन गर्नका लागि यो (किसान सूचीकरण राष्ट्रिय अभियान) कार्यक्रमले ठूलो सहयोग पुर्‍याउने छ ।'

उनले किसान सूचीकरण राष्ट्रिय अभियानमा सहयोग गरेकोमा युरोपेली युनियनलाई धन्यवाद दिए । सहयोग दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए । 

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्‍मा अर्यालले सम्मृद्ध किसान स्वस्थ्य नेपाल निर्माणका लागि किसान सूचीकरण राष्ट्रिय अभियानले ठूलो सहयोग पुर्‍याउने बताइन्। उनले विभिन्‍न समयमा भएका किसान आन्दोलनको सफलताको कडीको रूपमा किसान सूचीकरण राष्ट्रिय अभियान सुरु भएको पनि बताइन् । 

सातवटै प्रदेशमा सञ्‍चालन हुने गरि काठमाडौँबाट किसान सूचीकरण राष्ट्रिय अभियान सुरु गरिएको हो । यो अभियान अन्तर्गत किसानहरूको विस्तृत जानकारी डिजिटल माध्यमबाट संकलन गरिन्छ ।