सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

पार्टी सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्रीबाट राजीनामा नदिएर ओलीले दुनियाँलाई चकित बनाए : नेपाल

फाइल तस्बिर

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले आफुहरूले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गरेका छन् । अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै अध्यक्ष नेपालले राजीनामा दिएर नैतिकताको सानो अंश देखाउन आग्रह गरेका हुन् । 

उनले भने,  'केपी शर्मा ओलीलाई हामीले अन्तिम मौका दिइरहेका छौ । राजीनामा दिएर नैतिकताको सानो अंश देखाउनु होस् । नभए इतिहासमा तपाई सधैभरी कलंकीत मात्रै हुनुहुनेछ । धेरै फुर्ती नदेखाउनुहोस् । तपाईका फुर्ती देखाउने दिन गए ।'

उनले प्रधानमन्त्री ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्‍याएर प्रतिनिधि सभालाई सिध्याउने अवस्थामा पुर्‍याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे । 

उनले भने, 'कम्युनिष्ट विचार बोक्नेहरू प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्‍ने एउटा नकारात्मक उदाहरण उहाँले दिनुभएको छ । विगतमा पनि कम्युनिष्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विर्सजन भएर गएका छन् । यो नौलो कुरा होइन । त्यसबाट हामी निरास हुँदैनौ । ओलीको कदमविरुद्ध सिंगो देश नै आन्दोलित, तरंगित भयो । यो पार्टी मात्रै होइन संसदमा भएका राजनीतिक दलहरुपनि आन्दोलनमा उत्रिए ।'

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेको नेपालले बताए । ओलीले पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको नेपालको भनाइ छ । उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफुहरूप्रति कर्के नजर नलगाउन चेतावनी दिए ।