सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

‘संसदीय दलको बैठक गर्दैछन् रे कुन दलको हो थाहा छैन’

काठमाडौँ  :  नेकपा दाहाल–नेपाल समूहले आज गरेको संसदीय दलको बैठकलाई ओलीले कुन दलको हो भन्दै प्रश्न गरेका छन् । ओलीलाई कारबाही गरेर दाहाल नेपालले संसदीय दलको बैठक छुट्टै गरेको हो । विप्लव समूहसँग सहमतिमा हस्ताक्षर पछि उनले भने, ‘केही साथीहरूले संसदीय दलको बैठक गर्दैछन् भन्‍ने सुन्या थिएँ । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । अचम्म लाग्छ पनि लाग्दैन पनि ।’ 

उनले दाहाल–नेपालले नै दुई तिहाइ भत्काएर छोड्ने भन्दै हिँडेको पनि बताए । ‘आफ्नो दुई तिहाइ भत्काएर छोड्ने किस्तीमा प्रधानमन्त्री अरुलाई खाइदिनुस् न भन्दै जाने,’ उनले भने, ‘हामी छौँ नि तपाईका पछाडि लाग्ने भन्‍ने । कुन आइडियोलोजीमा पर्छ थाहा छैन। मार्क्सवादमा त यस्तो छैन ।’ उनले आफ्नो समूहले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगर्ने पनि बताए । 

‘हामीले प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राख्दैनौं । राख्या पनि छैनौं, राख्दैनौं पनि,’ उनले भने, ‘अस्थितरतातर्फ जानेभएपछि संसद् विघटन गरेका थियौँ। तर, फिर्ता आएको छ । फिर्ता आएपछि तामासा सुरु भएको छ ।’ ओलीले सरकार ढाल्ने गम्भिर प्रयास भएको पनि बताए । ‘०७३ सालमा पनि ढालेका थिए नि सरकार, मैले त्येसबेला भनेको थिएँ हामी झ्यालबाट होइन । ढोकाबाटै आउँछौँ,’ उनले भने, ‘०७४ सालको चुनावमा सिंहदरबारको ढोका खोलेरै आयौँ ।’