सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

दाहाल-नेपाल समूहले गर्‍यो केपी ओलीदेखि शान्ता चौधरीसम्मलाई कारबाही

फाइल तस्बिर

काठमाडौँ  :  नेकपा दाहाल-नेपाल समूहका् केन्द्रीय कमिटीको बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने स्थायी कमिटीको प्रस्ताव पारित गरेको छ ।  बुधबार बिहान बसेको स्थायी कमिटीले प्रधानमन्त्री ओलीसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र संसदीय दलको सचेतकबाट शान्ता चौधरीलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो । स्थायी कमिटीबाट सिफारिस भएका प्रस्तावहरु आज बुधबार नै बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको हो ।

 त्यस्तै  उनीहरुलाई पार्टी अनुशासन विपरित काम गरेकोले कारबाही गरिएको दाहाल-नेपाल समूहले जनाएको छ ।  त्यस्तै नेकपाको ओली समूहबाट संसदीय दलको प्रमुख सचेतक बनेका विशाल भट्टराई, महेश बस्‍नेत, प्रभु साह, कर्ण थापा,प्रधानमन्त्रीका  प्रेस सल्लाहकारलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेर कारबाही गरेको हो ।  

यो समूहले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गरेसँगै पुस ५ गते नै दलको नेता र पार्टी अध्यक्षबाट हटाइसकेको छ । दाहाल नेपाल समूहले ओलीलाई कारबाही गरेर पुष्पकमल दाहाललाई दलको नेता चयन गर्ने निर्णय गरेको थियो । अध्यक्षमा माधवकुमार नेपाल र दाहाल छन् ।  

दाहाल-नेपाल पक्षका नेता भीम रावलले सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेर लोकतान्त्रिक प्रणालीको रक्षा गरेको बताए । ‘सम्मानित सर्वोच्च अदालतले नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको पक्षमा स्वागत योग्य फैसला गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते गर्नुभएको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्नुको साथसाथै उहाँले संवैधानिक नैतिकता समेत कायम नराखेको स्पष्ट गरिसकेको छ,’ उनले भने, ‘आफूले  स्वेच्छाचारी ढंगले गरेको प्रतिनिधि सभा विघटन तथा आगामी वैशाख महिनामा निर्वाचन गर्ने निर्णय उचित भएको भन्दै आउनुभएका प्रधानमन्त्री ओलीको यस सम्बन्धी निर्णय र भनाइ गलत साबित भइसकेपछि तत्काल प्रधानमन्त्रीको पदबाट राजिनामा दिनुपर्ने उहाँको कर्तव्य हुन्थ्यो । र त्यो सामान्य नैतिकता भित्र पर्थ्यो ।’