यौनहिंसाविरुद्ध धवलागिरिमा किशोरी सम्मेलन

म्याग्दी : बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र जारी गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेका हुन् ।
गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा भएको सम्मेलनमा ११ विद्यालयमा गठन भएका किशोरी सञ्जालका ४८ प्रतिनिधिको सहभागिता थियो । किशोरीको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल गरेर प्रतिबद्धतासहितको घोषणापत्र जारी भएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेलले जानकारी दिए ।
किशोरावस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, कानूनले तोकेभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानूनी कारवाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।
सबै विद्यालयमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरिएको सम्मेलनमा सहभागीहरूले महिनावारी हुँदा सफला र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बीस वर्ष नपुगी विवाह गर्ने जोडीहरूको गाउँठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुनलागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौन शोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरिएको छ ।
घोषणापत्रमा किशोरीहरूले महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अँध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अन्धविश्वास र रूढिवादीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।
बाँच्न, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको सहजरूपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । सम्मेलनमा सहभागीहरूले बालविवाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाब आउने गरेका, महिनावारीको समयमा विद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुव्र्यवहार भएको बताएका थिए ।
किशोरीहरूले किशोरी सञ्जालमार्फत विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमका साथै बालविवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको बताएका थिए । किशोरी सञ्जालका सोनिया केसी, नरदेवी विक, लक्ष्मी विकलगायतले विद्यालयमा स्यानिटरी प्याडको सुविधा भएपछि महिनावारी हुँदा पनि विद्यालय जाने वातावरण बने पनि प्याडको सुरक्षित व्यवस्थापन गर्ने ठाउँ नभएको बताएका थिए ।
सङ्गम म्याग्दीका कार्यकारी निर्देशक भरत केसीले धवलागिरि गाउँपालिकामा बालविवाहको अवस्थाका साथै कारण, असर र कानूनी व्यवस्थाको बारेमा जानकारी गराएका थिए । धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले कानूनले अपराध मानेको बालविवाहको एक कारण गलत संस्कृति भएको बताए । उनले बालविवाहले महिलाहरूको शिक्षा, स्वास्थ्य, सामाजिकलगायत धेरै क्षेत्रमा असर गरेको बताए ।
कार्यपालिकाका सदस्य तथा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले सञ्चालन गरेको उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यामबहादुर थापाले गरिबी, पारिवारिक समस्या, सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोग बालविवाहको कारण भएको बताए । गाउँपालिकाका योजना अधिकृत कृष्ण सुवेदी र शिक्षा अधिकृत कमलप्रसाद ढकालले बालविवाह न्यूनीकरणका लागि किशोरीहरूनै सचेत बन्नुपर्ने बताए । रासस
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया