कतारमा तङ्ग्रदै विक्रम

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामा उपचारका क्रममा कतारमा छन् । लामो समयदेखि खुट्टाको चोटले दुःख दिएपछि शल्यक्रियाका लागि उनी कतारको प्रख्यात अस्पटार अर्थोपेडिक एण्ड स्पोटर्स हस्पिटल पुगेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार सरकारसँग समन्वय गरी विक्रमको उपाचारको चाजोपाँजो मिलाएको हो ।
‘स्पोटर्स इन्जुरी’ बोकेका खलाडीहरूका लागि अस्पटार लोकप्रिय उपचार स्थल हो । ब्राजिलियन स्टार नेयमारदेखि बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हालान्डसम्म उपचारका लागि अस्पटार धाउने गरेका छन् । यही अस्पटारमा धेरै नेपाली फुटबल खेलाडीहरूको पनि उपचार गरिएको छ । त्यो पनि निःशुल्क । विक्रमको उपचार र बसाइ खर्च कतारी सरकारले नै ब्यहोरिरहेको छ ।
पछिल्लो समय फुलब्याक रविन श्रेष्ठको उपचार पनि कतारको राजधानी दोहास्थित सोही अस्पतालमा गरिएको थियो ।
जनवरी १६ मा दोहा पुगेका विक्रमको फेब्रुअरी ३ मा दाहिने खुट्टाको शल्यक्रिया गरियो । तीन वर्षअघि धरानमा बुढासुब्बा गोल्डकप खेल्ने क्रममा विक्रमको खुट्टा भाँचिएको थियो । काठमाडौँमै गरिएको शल्यक्रियाले उनलाई खेलमा फर्कायो । तर शल्यक्रियाका क्रममा राखिएका रड निकाल्न बाँकी नै रहँदा उनको चोट बल्झियो । गत नोभेम्बरमा मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका बेला विक्रमलाई पुरानो चोटले दुःख दियो । नतिजा स्वरुप उनी राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरसँगै कतार पुगे । गत पुसमा अभ्यासका क्रममा घुडाँको चोट बोकेका विमल शल्यक्रियाका लागि त्यता गएका हुन् ।
विमल शल्यक्रिया अघि गराइने प्रि-रिह्याबिलिटेसनमा व्यस्त रहँदा, विक्रम भने शल्यक्रियापछि गराइने रिह्याबिलिटेसनमा छन् । शल्यक्रियाको भोलिपल्टदेखि नै विक्रमको रिह्याबिलिटेसन सुरु गरियो । ‘सुरुवातमा खुट्टा मोबिलाइज गर्ने काम भयो । अलि-अलि गर्दै हिड्ने गरे । त्यसको चार दिनपछि फिजियो थेरापिस्टसँग अभ्यास सुरु भयो,’ कतारमै रहेका विक्रमले भने ।
अहिले भने विक्रमको रिह्याबिलिटेसन फरक चरणमा छ । उनी प्रत्येक दिन डेढ घण्टादेखि अढाइ घण्टासम्म फिजियोसँग रहन्छन् । मैदानमा दौड्नेदेखि जिममा अभ्यास गर्नेसम्मका कार्यमा उनी दिनहुँ व्यस्त छन् । ‘सुरुमा करिब ६० प्रतिशत दुखाइ थियो । अहिले भने १० प्रतिशतमा झरिसक्यो । दौड्दा पनि दुखाइ छैन । तर दौड सकेर रोकिँदा भने दुखाइ महसुस हुन्छ । दिनहुँ गर्ने अभ्यासले मेरो आत्मविश्वास बढिरहेको छ,’ विक्रमले भने ।
विक्रम शल्यक्रिया भएको मितिले तीन महिनासम्म मैदान बाहिर रहनेछन् । उनको खुट्टा भाँचिएपछि शल्यक्रिया गर्दा राखिएको रडको डोब अझै पुरिएको छैन । डोब पुरिएपछि मात्रै हड्डी पूर्णरूपमा बलियो हुने विक्रमको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विक्रम र विमललाई एउटै होटलमा राखिएको छ । तर रिह्याबिलिटेसन सेसन भने फरक हुन्छ । उनीहरू बसिरहेको होटलबाट अस्पताल १० मिनेटको दूरीमा छ । जहाँ विक्रमलाई दुई फरक तालिकामा अभ्यास गराइन्छ । ‘एकदिन नियमित फिजियोथेरापी सेसन र जिम सेसन हुन्छ । दोस्रो दिन भने दुई सेसन मध्ये एउटा मात्रै गराइन्छ । जिममा विशेषगरी कार्डियो गराइन्छ । ता की नर्मल फिटनेसमा फर्कन सकुँ,’ विक्रमले थपे ।
विक्रम अस्पटारको सुविधा र रिह्याबिलिटेसन शैली देखेर दङ्ग छन् । ‘यहाँको रिह्याबिलिटेसन गराउने शैली नै फरक छ । एकदमै वैज्ञानिक पनि । स्पोटर्स पनि एक प्रकारको साइन्स हो भन्ने सुनेको, यहाँ आएर छर्लङ्ग भयो । कुनै पनि सेसनमा थोरै मात्रै दुखाइ महसुस भए त्यसदिनको अभ्यास बन्द गरिन्छ । शरीरले के भनिरहेको छ, त्यो सुन्नुपर्छ भन्ने मान्यता छ यहाँ,’ विक्रम भन्छन्, ‘नेपालमा हामी दुखाइमै खेल्ने, अभ्यास गर्ने गर्छौ । दुखाइमै खेल्दा बानी परिन्छ भन्ने हुन्छ । तर यहाँ आएपछि त्यो गर्न नहुने रहेछ भनेर ज्ञान भयो ।’
व्यवसायिक बन्न नसकेको नेपाली फुटबलमा खेलाडीहरू चोट बोकेपछि त्यसबाट कसरी पार पाउने भनेर डरमा रहन्छन् । केही महिनाको लिग र घरेलु प्रतियोगिताको भरमा जीवन निर्वाह गर्नुपर्ने खेलाडीलाई खेल दौरान बोकिने चोटले सधैँ सताउने बताउँछन् विक्रम । ‘कम पारिश्रामिकमा खेल्नु पर्ने बाध्यता त छदैछ । उपचार कसरी गराउने भन्ने अर्को तनाव हुन्छ । अनि रिह्याबिलिटेसनको राम्रो व्यवस्था नहुँदा, झन पीडा थपिन्छ,’ विक्रम गुनासो पोख्छन् ।
उपचार र रिह्याबिलिटेसनको मात्रै पनि राम्रो व्यवस्था हुने भए नेपाली खेलाडीको खेल र प्रदर्शनस्तर स्वतः उकासिने धारणा राख्छन् विक्रम । ‘फुटबल फिजिकल गेम हो । तर नेपालमा भने चोट बोकिन्छ कि भन्ने पिरले गर्दा मैदानमा शत प्रतिशत फिजिकल भएर खेल्न सकिदैन । कमसेकम राम्रो उपचारको व्यवस्था हुनेभए खेलाडीले ढुक्क भएर मैदानमा लड्न सक्छ,’ विक्रमको भनाइ थियो ।
‘कम पारिश्रामिकमा खेल्नु पर्ने बाध्यता त छदैछ । उपचार कसरी गराउने भन्ने अर्को तनाब हुन्छ । अनि रिह्याबिलिटेसनको राम्रो व्यवस्था नहुँदा, झन पीडा थपिन्छ,’ विक्रम गुनासो पोख्छन् ।
इंग्लिस प्रिमियर लिग लगायतका विदेशी लिगमा खेलाडीहरू शरीरको प्रवाह नगरी खेल्नुका कारण उनीहरूले पाउने उपचार र रिह्याबिलिटेसन सुविधा भएको विक्रमको ठम्याइ छ । ‘कतारमै समेत खेलाडीको बिमा हुने रहेछ । मैले त यही आएर थाहा पाए । त्यसो भएपछि खेलाडीले उपचार कसरी गर्ने भन्ने तनाब बोक्नु नपर्ने रहेछ,’ विक्रमले थपे ।
विक्रम शल्यक्रिया भएको मितिले तीन महिनासम्म मैदान बाहिर रहनेछन् । उनको खुट्टा भाँचिएपछि शल्यक्रिया गर्दा राखिएको रडको डोब अझै पुरिएको छैन । ती डोब पुरिएपछि मात्रै हड्डी पूर्णरूपमा बलियो हुने विक्रमको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । तीन महिना भन्दा बढी आफू मैदान बाहिर नरहनेमा विक्रम ढुक्क छन् । ‘म त अहिले नै खेल्न सक्छु जस्तो लाग्छ । त्यो स्तरको आत्मविश्वास छ,’ विक्रमले हाँस्दै भने, ‘तीन महिना कटेपछि म सामूहिक अभ्यासमा फर्कनेछु । जुन रिह्याबिलिटेसनको अन्तिम चरण हो । मैदानको भिडसँग अभ्यस्त भएपछि म पूर्णरूपमा खेलमा फर्कनेछु ।’
३१ वर्षीय विक्रम आफू अझै पाँच वर्ष खेल्न सक्ने बताउँछन् । कतार पुगेपछि ‘फ्याट चेक’ देखि अन्य विभिन्न आवश्यकीय जाँच गराउँदा आफ्नो शारीरिक अवस्था राम्रो रहेको पाएको र यही स्तरमा शरीरलाई ‘मेन्टेन’ गर्न सके आफूले सजिलै ३५ वर्षसम्म खेल्न सक्ने आत्मविश्वास जागेको विक्रमको भनाइ छ । सन् २०१२ मा नेपाली राष्ट्रिय टोलीको यात्रा सुरु गरेका विक्रम भरपर्दा मिडफिल्डर हुन् । प्लेमेकर तथा डिफेन्सिभ मिडफिल्डरको भूमिकामा खरो उत्रदै आएका विक्रम लामो अवधिसम्म खेल्न सक्नु कम खेलाडी उत्पादन भइरहेको नेपाली फुटबलका लागि सुखद समाचार हो ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया