शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

सेनाको स्वास्थ्य शिविरमा ३२ जनाको सर्जरी

काठमाडौँ : नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन् ।

सेनाको २७ बाहिनी र बहादुर शेर गण २७ नं फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८ को इसिजी, ४४ को अल्ट्रासाउण्ड र  ९२ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको सेनाले जानकारी दिएको छ । गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, जनता वनवाली उच्च माध्यामिक विद्यालय, सगरमाथा आँखा अस्पताल र जानकी मेडिकल कलेज धनुषाले सहयोग पुर्‍याएका थिए ।

शिविरमा ४१२ जनाको विस्तृत स्वास्थ्य परीक्षण, १८६ जनालाई बालरोग र  ८८ लाई स्त्रीरोग तथा ४० जनालाई इएनटीसेवा उपलब्ध गराइएको सेनाले जानकारी दिएको छ । शिविरमा १०५ जनाको आँखा परीक्षण र ३२ बिरामीको सर्जरी तथा ९८ इन्टरनल मेडिसिन गरिएको बाहिनी अड्डाले जनाएको छ ।

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेखित नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविरको बाहिनीपति हेमराज केसीले शुभारम्भ गरेका हुन् । मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्कीले स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासीसँग अन्तरक्रिया गरेको उक्त शिविरबाट उपलब्ध गराइएको गुणस्तरीय सेवाको गाउँपालिका अध्यक्ष रामशरण यादव, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायतले खुलेर प्रशंसा गरे ।