बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गर्न सुहाउन्‍न : डा. कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले अहिले सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघ मोरङ्ले बिराटनगरमा आयोजना गरेको बनभोज कार्यक्रममा उनले २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्‍न म्याण्डेट दिएको बताए । 

'जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्‍ने म्याण्डेट दिएका छन,' डा. कोइरालाले भने, 'सिंगो पार्टी पङ्ती यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन।' नेकपा कानुनी रूपमा विभाजित नहुँदासम्म कांग्रेसले कुनै पक्षको वकालत गर्न नहुने डा. कोइरालाले बताए ।

उनले नेकपा अझै विभाजन भइ नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा बताए । 'अझै कानुनी रूपमा विभाजित भएको छैन । तसर्थ अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिड्न सकिन्‍न,' उनले भने ।

सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरूलाई दु:ख दिइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिए ।