महतवा : थारू जातिको सरकार

गत वर्ष माघ १ गतेको दिन प्रदेश सांसद डिल्ली चौधरीको डुम्रिगाउँ घरमा गाउँभरिका थारूहरू जम्मा भए । सुँगुरको मासु र जाँड ल्याएर गाउँलेहरू भेला भएका थिए । उनीहरूले महतवा समेत रहेका चौधरीलाई मन अघाउने गरी गाली गरे । एक वर्षसम्म मनमा गुम्सिएका कुराहरू खोल्नका लागि जाँडले उनीहरूलाई थप वल समेत दियो । सबैले मनभरी गाली गरिसकेपछि पुन: चौधरीलाई नै नयाँ महतवा छाने । थारू समुदायमा महतवा यस्तो व्यक्ति हो जसलाई गाली गर्न र चित्त नवुझेको कुरा गर्नका लागि माघ १ गते नै कुर्नुपर्दछ । अनि त्यही माघ १ ले उसलाई नवीकरण गर्ने या नयाँ छान्ने भन्ने निधो समेत गर्दछ ।
मुलक संघीयतामा गएसँगै अहिले तीन तहका सरकार छन् : संघ, प्रदेश र स्थानीय तह । तर यी तिन सरकार भन्दा पर अर्को सरकार पनि छ महतवा । यो थारू समुदायका लागि राज्य जस्तै हो । थारू समुदायका मानिसहरू महतवालाई सरकार प्रमुख जस्तै मान्छन् अनि उसले दिएका सबै निर्देशन खुरुखुरु पालना गर्छन् ।
पहिलेको तुलनामा महत्व विस्तारै खुइलिदै गएको भएपनि महतवा प्रथा जीवित भने रहेको छ । थारू जातिमा सबैको नेतृत्व गर्ने सर्वमान्य व्यक्तिलाई महतवा भनिन्छ । त्यही महतवाले राज्यभित्र पनि छुट्टै राज्य चलाउँछ । महतवा छुट्टै राज्य हो भन्नका लागि केही दृष्टान्त छन् :
दुई वर्ष अगाडि हेकुली गाउँमा सिँचाइ पानीको अभाव थियो । खेतमा पालैपालो सबैले पानी लगाउँथे । यो नियम महतवाको उपस्थितिमा सबैले पास गरेका थिए । महतवाले भन्यो भने त्यो कानुन नै हुन्छ थारू समुदायका लागि । तर एक जना किसानले भने रातको समय पारेर अरुको खेतमा जाने पानी आफ्नो खेतमा हालेछ । त्यसलाई पत्ता लगाइयो । गल्ती खासै ठूलो थिएन । चोर्ने वालाको घरमा गएर चल्ला मारियो अनि त्यसको टुक्रा सबैका घरमा पुर्याइयो ।
गाउँका एक युवाले विवाह गरेकी श्रीमतीलाई वास्ता गर्न छाडे । दिन बित्दै जाँदा थाहा भयो उनले अर्की श्रीमती ल्याएका रहेछन् । श्रीमतीले महतवा कहाँ उजुरी हालिन् । सबै जम्मा भए । युवतीले युवकले दिएका सबै गहना र लत्ताकपडा उसलाई नै छाडेर गइन् । खुटमा लगाएको चप्पल समेत उनले छाडिन् । महतवाको नियम अनुसार उनले श्रीमानसँग सम्पत्तिको नाममा केही पनि पाइनन् ।
श्रीमान घरमा नभएको मौकामा उनकी श्रीमतीले अर्को मानिससँग यौन सम्बनध राखिन् । यो कुराका वारेमा गाउँमा चर्चा हुन थाल्यो । एक कान दुई काम मैदान हुन थालेपछि यो कुरा महतवासम्म पनि पुग्यो । उनले दुवैजनालाई बोलाए । श्रीमानले श्रीमतीलाई एकपटकलाई क्षमा दिने विन्ति विसायो । महतवाले त्यसलाई अनुमोदन पनि गरे तर अर्काकी श्रीमतीसँग सम्बनध राख्ने मान्छेले ठूलो गल्ति गरेकाले उसलाई भने सजाय दिइयो । महतवाको सजाय गल्ती अनुसार घरमा पालिएको जनावर मारेर सबै घरमा पुर्याउने प्रचलन हुन्थ्यो । उनको घरमा रहेको सुँगुर काँटेर सबैका घरमा पठाइयो ।
केही समय अगाडि हेकुलीमा वस्ने संस्कृतिविद् अशोक चौधरीको आमाको मृत्यु भयो । गाउँका महतवाले सबैलाई जम्मा पारे । अनि उनले हरेक दिन घरको काममा सघाउनका लागि दैनिक ३ जनाका दरले गाउँलेलाई तोके । गाउँलेहरू १३ दिनसम्म दैनिक पालैपालो उनको घरमा सघाउन गए । घरमा केही अभाव हुँदा उनीहरूले सामुहिक रूपमा जुटाउने काम समेत गरे ।
आदिम कालदेखि सुरु भएको महतवा प्रथा अझै पनि जीवित छ । प्रदेश सभासद एवम् पूर्व राज्यमन्त्री डिल्ली चौधरीका अनुसार दाङ्गदेखि पश्चिम तिरका जिल्लामा मात्रै ६२ सयको हाराहारीमा यस्ता महतवाहरू रहेका छन् । हरेक थारू गाउँमा महतवाहरू अहिले पनि पुर्खाको विँडो मात्रै थामिरहेका छन् तर यो कहिलेसम्म थामिने हो उनीहरूलाई नै थाहा छैन । उनीहरूसँग सत्ता छ, पद छ तर पावर छैन, पछिल्लो समय सम्मान पनि कम हुँदै गएको छ । एकै ठाउँमा भेला भएर महतवा छान्ने थारू समुदायका मानिसहरू अहिले विभिन्न नाममा विभाजित हुन थालेका छन् ।
‘महतवा केवल नाममा मात्रै सीमित रहेको देखिन्छ’ थारू संस्कृतिविद अशोक थारूलाई लागेको कुरा हो यो । पछिल्लो समय थारू समुदायका विभिन्न मानिसहरू खण्डित हुँदै जान थालेपछि अहिले उनीहरूलाई महतवा समेत जोगाउँन धौ धौ भएको छ । महतवाले गरेको निसाफ माथि कुनै पनि प्रश्न नगर्ने थारू समुदायका मानिसहरू समस्या पर्दा अहिले महतवा कहाँ जान कम गरेका छन् । ‘हाम्रो गाउँमा महतवा बन्ने मान्छे नभेटिएर अहिले कोही पनि छैन,’ तुलसीपुर ६ बरुवागाउँका नारायण चौधरीले भने ।
प्रदेश सांसद डिल्ली चौधरी विगतको तुलनामा महतवा प्रथाको लोकप्रियतामा केही ह्रास आएको भएपनि पुरै नहराएको वताउँछन् । उनका अनुसार अहिले महतवाहरूले मुख्य गरेर ५ वटा काम गरिरहेका छन् । पुजा आजा गर्ने कामको नेतृत्व पहिलो काम, मान्छे मर्यो, कसैको घरमा विवाह भयो या कुनै पुजा भयो भने मानिसहरूलाई खटाउने र सघाउने दोस्रो काम, माघी, दसैँलगायतका अन्य चाडमा मासुको व्यवस्थापन गर्ने तेस्रो काम, बाटो बनाउने, कुलो पानीको व्यवस्था गर्ने चौथो काम, झैझडा पर्दा सकभर गाउँघरमै सबैलाई भेला पारेर मिलाउने अन्तिम काम ।
यसरी हराउँदैछन्
ज्योति चौधरीको घर दंगीशरण ३ बिजुलीपुरमा रहेको छ । उनी पेशाले लेखापढी व्यवसायी हुन् । महतवाको भुमिकावाट भर्खरै बाहिर आएका उनी थारू समुदायको लापरवाही नै महतवा प्रथा हराउनुको कारण मान्छन् । ३ वर्षसम्म महतवा बनेको ज्योतिसँग निकै रमाइला अनुभव छन् । उत्तिकै दुखपूर्ण पनि । ‘महतवाको कामै छैन भनेर हेला गर्न लागेपछि मैले छाडेको हुँ,’ उनले दुख पोखे । थारू जातिमा छोरीको विवाह भएपछि रक्सी, भाले र गुन्द्री चढाउने संस्कार छ । त्यो सबै सम्मानका लागि दिने गरिन्छ । भुइह्यारमा चढाइपछि महतवालाई सम्मान स्वरूप टक्राउनु पर्दछ । महतवा थारू समुदायका देवता जस्तै मानिन्छन् । तर उनलाई गाउँलेले कोसेली दिनुहुँदैन भनेपछि उनको मन विरक्तियो । चल्ला र गुन्द्री भन्ने सामान्य कुरा हो सम्मान मुख्य कुरा हो । त्यसैमाथि प्रश्न गरेपछी उनले महतवा पद नै छाडिदिएको वताए । ‘सम्मान हुँदैन भने सम्मानित पदमा बस्नुको अर्थ के भयो र ?’ उनले भने ।
तुलसीपुर ६ बरुवागाउँमा पनि करिव ७ वर्ष पहिले महतवाको मृत्यु भएपछि अहिलेसम्म कोही पनि महतवा बनेको छैन । ‘गाउँलेहरूलाई मतलव छैन, भुईह्यार समेत बनाएका छैनन अनि कसरी महतवा हुन्छन् त ?’ नारायण चौधरीले भने । महतवा नै नभएपनि नयाँ पुस्ता यसबाट टाढै रहेको उनले वताए । ‘हाम्रो समुदायमा महतवा पनि हुन्छ र ?’ बरुवागाउँमै वस्ने आश्मा चोधरी (१५) ले उल्टै प्रश्न गरिन् ।
एक समय थियो थारू समुदायको संस्था, सरकार या भगवान जे भनेपनि महतवा नै थियो । उनीहरू हरेक समस्याको समाधान गर्ने व्यक्तिका रूपमा महतवालाई नै लिने गर्दथे । कुन दिन कुन देवताको पुजा गर्ने भन्ने निर्णय पनि महतवाले नै गर्ने गर्दथ्यो । तर राजनीतिक परिवर्तनसँगै विस्तारै विभिन्न संघसंस्था खुल्नुका साथै थारू समुदाय पनि राजनीतिक कारणले वदलिदै जान थाले । थारू समुदायमै क्रिश्चियन धर्मको प्रभावका साथै दश दर्षे द्वन्द्वले समेत यो प्रथालाई किराना लगाउने काम गर्यो ।
कुनै एक दलप्रति आस्था राख्नेले अर्को दलप्रति आस्था राख्ने महतवालाई स्विकार गर्न नसक्ने अवस्था आयो । यसका साथै केही अन्याय पर्दा पनि सजिलै कानुनी उपचार पाउने भएपछि उनीहरू अड्डा अदालत धाउन थाले । विस्तारै देखासिकी गर्दा गर्दै अहिले नयाँ पुस्ताले यसलाई लत्याउँदै जान थाल्यो । सबैले मान्ने अनि सम्मान गर्ने महतवाको महत्व घट्दै जान थालेपछि अहिले महतवा को बन्ने भन्ने समस्या पर्न थालेको छ । महतवा बन्नका लागि हानथाप हुने समुदायमा नयाँ पुस्ता टाढिन थालेका छन् । राजा र भगवान् जस्तो पदमा पनि कसैले बस्न नमान्नु भनेका आफैमा दूर्भाग्यपूर्ण कुरा बनेको छ ।
यस्तो थियो अधिकार
वाइसे चौविसे राज्य हुने बेलामा होस् या राणाकालमा थारू समुदायका हरेक समस्याको समाधान महतवाले गथ्र्यो । राज्यले समेत सन्धिपत्रमा लेखेर महतवाको आधिकारीकता दिएको थियो । वर्षभरि कुन चाड कुन तिथीमा कसरी मनाउने भन्ने निर्णयदेखि कुलोपानीको विवादसम्मका कुरा पनि महतवाको जिम्मामा हुन्थ्यो । थारू संस्कृतिविद अशोक महतवा प्रथालाई राज्यका अगसँग दाजेर हेर्छन । राजा या राष्ट्रपतिको ठाउँमा महतवा, प्रधानमन्त्रीको गाउँमा अघवा र सांसदको ठाउँमा गरदुर्याहरू रहने गरेका छन् । ‘हरेक घरबाट गरदुर्या छानिन्छन तिनले अघवा र महतवा छान्छन्’ संस्कृतिविद अशोकले सबैको इच्छा अनुसार दोहोर्याउने गरेको समेत वताए । उनले महतवा बन्ने मन भएपनि अग्रजका सामु कसैले कुरा खोल्न नसक्ने पनि बताए ।
व्यवस्थित गर्नुको साटो राज्यले कानुनलाई मात्रै आधार बनाएर महतवालाई महत्व दिन नसकेको उनीहरूको आरोप छ ।
सबै जनतालाई खुसीसँग राख्ने महतवालाई राज्यले लालमोहर समेत दिने गर्दथ्यो । त्यस्ता महतवाहरू अरुभन्दा अझ बढी शक्तिशाली हुनेगर्दथे । उनीहरूको कार्यक्षमताको आधारमा राज्यले त्यस्ता मोहरहरू दिने गर्दथ्यो । सबैले छान्ने गरेको भएपनि धेरै जसो महतवाहरू वंशाणुगत गुणका आधारमा हस्तान्तरण हुने गरेको पनि संस्कृतिविद् चौधरीले जानकारी दिए । उनले काम गर्न सकिँदैन भन्ने लागेमा या मृत्यु भएमा मात्रै महतवाले पद छाड्ने गरेको पनि वताए । थारू समुदायमा विधान अलिखित हुने भएकाले महतवाले भनेको कुरा नै कानुन हुने प्रचलन रहेको छ ।
समयक्रमसँगै महतवालाई कानुनी मान्यता दिएको राज्यले नै उसका सबै अधिकार खोस्यो । उनीहरू राज्यले आफुलाई उपेक्षा गरेको मान्छन् । व्यवस्थित गर्नुको साटो राज्यले कानुनलाई मात्रै आधार बनाएर महतवालाई महत्व दिन नसकेको उनीहरूको आरोप छ । राणाकालसम्म कानुनी हैसियत समेत राख्ने उनीहरूको अधिकार पञ्चायत कालबाट शून्यमा झर्यो । आस्था र विश्वासका आधारमा त कति पो टिक्न सक्थ्यो र विस्तारै ओरालो लाग्दै जान थाल्यो ।
अहिले के गर्छन् ?
महतवाको अधिकार खुम्चिएर हराउँदै गएको भए पनि महतवा प्रथा भने अहिले पनि हराएको छैन । हरेक थारू गाउँमा माघीको अवसर पारेर महतवा छान्ने चलन भने उस्तै छ । तर पहिले जस्तो रौनक भने अहिले हुँदैन । महतवा को बन्ने भन्ने होडबाजी होइन बन्दैन भन्ने होडबाजी चल्ने गरेको छ । तर पनि उनीहरूले केही सानातिना काम भने गरेर समाजमा सुव्यवस्था कायम गरिरहेका छन् । थारू समुदायका झै झगडा खासै प्रहरी कार्यालयमा पुग्ने गरेका छैनन् । ‘हामीले अहिले पनि गाउँमै मिलाउने प्रयत्न गर्छाै, अदालत या प्रहरी कार्यालयमा हेर्ने हो भने थारू समुदायका मुद्दा निकै कम छन्’ सांसद चौधरले भने ।
कुलो पानीको समस्या मात्रै होइन, विभिन्न पूजाआजाका लागि समेत महतवाको आवश्यकता खड्किदै गएको छ । कतिपय ठाउँमा थारू गाउँहरू हराउँदै गएकाले पनि महतवा हराउँदै गएको उनीहरूको भोगाई छ । ‘मुख्य गरेर कुलोपानीको समस्या समाधानका लागि महतवाको भूमिका धेरै हुन्थ्यो अव सबै खेतियोग्य जमिनमा घर बनेपछि झनै हराउन थाल्यो’ युवा नारायण चौधरीले भने । अहिले अधिकांश ठाउँमा महतवाको मुख्य काम भनेको भुइह्यार थान पुजा गर्ने र विभिन्न धार्मिक कार्यमा सहभागिता जनाउने मात्रै रहेको छ ।
बन्दैनन् भुइह्यार थान
थारू जातिको वाहुल्यता रहेको दाङ्गमा विस्तारै थारूहरूले पुजा गर्ने मन्दिर अर्थात् भुइह्यार थान हराउँदै जान थालेका छन् । अन्य मन्दिर बन्नुका साथै थारूहरूले नै पहलकदमी लिन नसक्दा यस्ता भुइह्यार हराउँदै गएका हुन् । भुइह्यार नै नबनेपछि महतवाको महत्व नहुने भएकाले पनि महवता प्रथा हराउँदै गएको थारू अगुवाहरू तर्क गर्छन् । द्वन्द्वको समयमा महतवा प्रथाको महत्व कम भएकाले हराएको स्विकार्दै राष्ट्रिय अध्यक्ष समेत रहेका सभासद चौधरीले स्थानीय सरकारको पहलमा विभिन्न ठाउँमा भुइह्यार थान निर्माण हुँदै गएको बताउछन् ।
हिजो महतवाले गर्ने काम अहिले वडा कार्यालय, टोल विकास संस्था जस्ता निकायले गर्न थालेका छन् । पहिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको काम महतवाले नै गर्थे । अहिले यी अधिकार क्षेत्र कटौती भएका छन् । अनौपचारिक रूपमा पुरानो चलनअनुसार काम गरे पनि वैधानिकता नहुने भएकाले महत्वका केही कमी आएको छ ‘महतवाले कुनै निर्णय गरे पनि त्यसले कानुनी रूपमा मान्यता पाउँदैन । वैधानिकता नभएपछि महतवाको अधिकार क्षेत्र खुम्चिँदै गएको छ’ पूर्वमहतवा ज्योतिले भने । थारू जातिको ऐतिहासिक महत्व र परम्पराअनुसार स्थानीय सरकारको कुनै पनि संयन्त्रमा महतवाको सहभागिता स्वीकार गर्न सकेमा यो संस्कार जीवित हुन सक्ने आधार देखिन्छ ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया