सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

‘नेकपा’ नाम बारेको फैसला २० फागुनमा

काठमाडौँ : ऋषिराम कट्टेलले सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले २० फागुनमा फैसला सुनाउने भएको छ । 

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ सकिएको छ । इजलासले सुनुवाइ सकिएपछि २० फागुनमा निर्णय सुनाउने सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । 

तत्कालिन एमाले र माओवादीबीच एकीकरण भएर २०७५ जेठ ३ मा नेकपा बनेको थियो । त्यसपछि कट्टेलले आफू नेतृत्वको नेकपासँग नाम जुधाँएको भन्दै निर्वाचन आयोगमा उजुरी गरे । 

आयोगले ०७५ कात्तिक ९ गते एमाले र माओवादीबीच एकीकरण  भएर बनेको नेकपाको पक्षमा निर्णय गरेको थियो । 

त्यसपछि कट्टेलले आयोगलाई समेत विपक्षी बनाएर ०७५ मंसिरमा २१ मा रिट दायर गरेका थिए । त्यही रिटमाथिको बहस बिहीबार न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा सकिएको हो । 

अहिले नेकपा आफै विवादमा रुमल्लिएको बेलामा अदालतले नामबारे निर्णय दिन लागेको हो ।