बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

विघटनको संघारमा पुगेको सरकारका ऊर्जामन्त्री रायमाझीको सक्रियता

फाइल तस्बिर

काठमाडौँ : विघटनको संघारमा पुगेको केपी ओली सरकारका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले विद्युत् प्राधिकरणमा आफ्नो सक्रियता बढाएका छन् । सरकारको आयु आज हो कि भोलि भइरहेका बेला ऊर्जामन्त्री रायमाझीले आज बिहीबार सवा पाँच बजे प्राधिकरण सञ्चालक समितिको बैठक बोलाउन लगाएका छन् ।

प्राधिकरण सञ्चालक समितिका एक सदस्यका अनुसार निर्माण कार्य सम्पन्‍न भएर व्यापारिक तवरमा बिजुली उत्पादन भइसकेको माथिल्लो त्रिशुली थ्री ‘ए’ को परामर्शदाता एनडब्लूएचसँग पुनः सम्झौता गर्ने तथा म्याद थप गर्ने एजेन्डा रहेको सुनाइएको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले माथिल्लो त्रिशुली थ्री ‘ए’ निर्माण सम्पन्‍न भएर बिजुली उत्पादन गरिरहे पनि यसको ‘दोष दायित्व अवधि’ (डिफेट लाइबिलीटी पिरियड) नसकिएकाले त्यस अवधिसम्म म्याद थप गर्नु परेको बताए । आगामी अक्टोबर महिनासम्म यो अवधि कायम हुने भएकाले कुनै गडबड भए ठेकेदारले बेहोर्ने र त्यसको सुपरीवेक्षण परामर्शदाताले गर्ने गर्छ ।

त्यसैगरी भारतसँग बिजुली खरिद बिक्री गर्ने अधिकार प्राधिकरणका कार्यकारी निर्देशकलाई प्रत्यायोजित गर्ने अर्को एजेन्डा पनि रहेको प्राधिकरणले सञ्चालक समितिका सदस्यहरुलाई पढी बाची सुनाएको ती सदस्यले बताए । ‘यस्तो बेलमा पनि बोर्ड बैठक राखेर सरकारले नियमित काम गर्न खोजेको देखिन्‍छ,’ ती सदस्यले बिहीबार इकागजसँग भने ।