फेरि पनि राजनीतिको मियोमा पुष्पकमल दाहाल
दाहालले देउवालाई आम निर्वाचनमा उल्याए, ओलीलाई फूल दिएर फुल्याए, नेपाललाई लड्डू खुवाएर भुल्याए

काठमाडौँ : संसदीय राजनीतिको केन्द्रमा पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आइपुगेका छन् । २०७४ सालको आम निर्वाचनमा तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेपछि दाहालको राजनीतिक भूमिका खुम्चिएको थियो । दाहालले प्रधानमन्त्री बनाउने त टाढाको कुरा, ओलीको सरकारमा पार्टीको अध्यक्ष भएर मन्त्री फेर्ने सामान्य हैसियत पनि ओलीले उनलाई दिएनन् ।
बरु दाहाल पक्षबाट सरकारमा प्रतिनिधित्व गरेका गृहमन्त्री रामबहादुर थापालाई त ओलीले कुरा लगाइदिए, ‘प्रचण्डले मसँग आएर तपाईंलाई फेर्नुपर्यो भन्छन्, सरकारको स्थिरताका लागि म यो पक्षमा छैन ।’ चलाखीपूर्ण ढंगले दाहालसँग थापालाई चिढ्याउन सफल भएका ओलीका बठ्याइँ त्यसपछि भने सफल भएनन् ।
कुनै बेला तत्कालीन राजा ज्ञानेन्द्रको शैलीमा ओलीले आफ्ना विपक्षीजति सबैलाई मिल्न दिएर आफू एक्लिने गल्ती गरे । अन्ततः २०७२ को भारतीय नाकाबन्दीपछि ओलीले निर्माण गरेको राष्ट्रवादी छवि पतन हुँदै गयो भने राजनीतिक अवसानको स्थितिमा उनी पुगे ।
हुन त ओलीले सबै दलहरूको सहमतिमा लिपुलेक र कालापानी सहितको नक्सा राखेर संविधान संशोधन गरेको विषयलाई पनि आफ्नो पहलमा भएको भनेर भजाउन नखोजेका होइनन् । तर बारम्बार एउटै विषयमा दलील गर्दै भनिरहेपछि जनतामा उनका कुरा बिकेनन् ।
‘राष्ट्रवाद’लाई सस्तो विषय बनाएर आफ्नो राजनीतिक उन्नयनमा प्रयोग गर्न खोजेका ओली यसपटक नराम्ररी पछारिएका छन् । उठ्नै नसक्ने गरी र राजनीतिमा ओलीको ठाउँ लिए पुष्पकमल दाहालले ।
शान्ति प्रक्रियापछि जसरी नेपाली राजनीतिको केन्द्रमा गिरिजाप्रसाद कोइराला रहे । उनले शान्ति सम्झौताको ट्रयाक बाहिर जान लागेका तत्कालीन माओवादीलाई रोकेको मात्र होइन, कसलाई प्रधानमन्त्री बनाउने उनैले तय गर्थे । गिरिजाप्रसाद कोइरालाको निधनपछि दाहाल कुनै न कुनै रूपमा राजनीतिको मियोमा रहे । उनी चलेपछि मात्र अरु राजनीतिक खेलाडीहरू चल्न सक्ने अवस्था थियो ।
अब मियोमा रहेर दाहालले नेपाली राजनीति र राजनीतिक खेलाडीहरूलाई आफू अनुकुल घुमाउनेछन् ।
यसबीचमा दाहालले झलनाथ खनालदेखि संविधान जारी भएपछि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेले । बाह्य शक्ति (भारत) को चाहानामा संविधानसभाको दोस्रो निर्वाचन गराउन तत्कालीन सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा पूर्व प्रशाशकहरुको सरकार बनाउने डिजाइन बन्यो ।
सबैलाई प्रधानमन्त्री अफर गर्ने दाहालको सोखलाई बुझेर उनैमार्फत् यसको घोषणा गराइयो । दाहालले हेटौंडामा आयोजित आफ्नो दलको महाधिवेशनका क्रममा दाहालले नै पहिलोपटक दलबिनाको सरकार बनाएर देशलाई निकास दिने घोषणा गरे ।
२०७२ पछि आम निर्वाचनसम्म आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई ओलीले तोडेपछि पुनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारी गरेर पहिले आफू प्रधानमन्त्री बने, त्यसपछि देउवालाई बनाए । त्यसो त प्रचण्डलाई राजनीतिक फाइदाका लागि कहिले उत्तर त कहिले दक्षिणतिर पुग्न सक्ने माहिर खेलाडीका रूपमा लिइन्छ ।
देउवासँग सत्ता साझेदारी गर्दागर्दै निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गर्न पुगे । यो पार्टी एकताले निर्वाचनमा उनलाई केही सफलता दिएको भएपनि अन्ततः उनी ओलीविरुद्ध नै लड्नुपर्ने सस्थतिमा पुगे । देउवासँग सत्ता साझेदारीको क्रममा ओलीसँग नजिकिएर फूल साटासाट गरेका दाहाललाई समयक्रममा ओलीले फूलको जवाफ पत्थरले दिए ।
ओलीबाट चिढिएर दाहालले नेकपामा माधव कुमार नेपालसँग मोर्चाबन्दी कसे । दाहाल र नेपालको सम्बन्धको उतारचढाव भने पुरानै हो । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका नेता माधवकुमार नेपाललाई दुवै निर्वाचन क्षेत्रबाट हराउन सफल भएपछि तत्कालीन अवस्थामा दाहालले उनलाई कहिले राष्ट्रपति त कहिले के पद दिने भनेर फकाउन खोजिरहे । तर नेपाली कांग्रेसको समर्थनमा नेपाल प्रधानमन्त्री बनेपछि भने दाहालले उनलाई हटाउन ठूलै कसरत गरे ।
नेपाललाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भुटानको थिम्पूमा भएको सार्क शिखर सम्मेलनको क्रममा दूषित हावा भरेर पठाएकाले नेपालले राजीनामा दिन नमानेको भन्दै दाहालले काठमाडौंका सडकमा दिल्ली विरुद्ध आन्दोलन पनि गरे । नेपालले पनि दाहालको विकल्पमा अरु कोही प्रधानमन्त्री बन्ने हो भने सत्ता छाड्ने तर दाहालका लागि भने सत्ता नछाड्ने अडान राखेका थिए ।
दाहाल-नेपाल सम्बन्धको उतारचढाव लामो भएपनि अहिले उनीहरू ओलीविरुद्धको मोर्चामा एक भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई बदर गरिदिएपछि भने दाहाल–नेपालले यो परिस्थितिलाई विजयको हर्षोल्लासका रूपमा लिएका छन् । प्रधानमन्त्री ओलीले भनेजस्तो ‘लड्डू खुवाई-खुवाई’ गरेर खुसी साटेका छन् ।
फेरि पनि दाहाल अरु दलका नेताहरूलाई प्रधानमन्त्री अफर गर्न सक्ने अवस्थामा आइपुगेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यो लोभ देखाएका छन् ।
राजनीतिमा अत्यन्त गतिशील रहने दाहालको राजनीतिक करिअरमा प्रतिकुलता र ग्रहण अब हटेको छ । संविधान निर्माणपछि देउवालाई उल्याउने, ओलीलाई फुल्याउने र नेपाललाई भुल्याउने शैलीको दाहालको राजनीति अब कसरी अघि बढ्ने हो, त्यसका लागि आगामी दिनहरू पर्खनैपर्छ ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया