आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

लिभरपुलको नजर च्याम्पियन्स लिगमा

काठमाडौँ: लिभरपुलका फरवार्ड साडियो मानेले जारी प्रिमियर लिग सिजनमा म्यानचेस्टर सिटीलाई भेट्न नसकिने बताएका छन् । पेप ग्वार्डिओलाको टिमसँगको अंक दुरी धेरै भइसकेकाले अब लिग उपाधि रक्षा गर्न सम्भव नरहेको पनि मानेको स्विकारोक्ति थियो ।   

२५ खेलबाट ५९ अंक बनाएको सिटी लिगको शीर्षस्थानमा छ । मानेको टिम लिभरपुल भने निरन्तर खराब प्रदर्शन गर्दै अंक तालिकाको छैँठौँ स्थानमा छ । गत सिजन लिभरपुललाई लिग जित्न मद्दत गरेका सेनेगलिज खेलाडी मानेले आफ्नो टिमले अहिले पछि परे पनि अन्तिम समयसम्म पनि हार नमान्ने पनि बताए । 

प्रिमियर लिग उपाधि दौडमा पछाडि भए पनि लिभरपुलले च्याम्पियन्स लिगबाट नजर भने नहटाएको मानेको भनाई थियो । ‘सिजनको सुरुवातमा हाम्रो लक्ष्य प्रिमियर लिग, च्याम्पियन्स लिग र घरेलु कप जित्ने थियो । अब प्रिमियर लिग जित्न सम्भव छैन । तर चयाम्पियन्स लिगमाथि हाम्रो नजर भने छदैछ,’ मानेले इएसपीएनसँग कुरा गर्दै भने, ‘हामी हार भने मान्‍ने छैनौँ । अन्तिम समयसम्म पनि हामी सबै प्रतियोगितामा बलियो प्रदर्शन गर्ने प्रयास अन्तिम सम्म पनि गर्ने नै छौँ ।’  

प्रिमियर लिगमा गत साता एभरटनसँग हार ब्यहोरेको लिभरपुलले सबैखाले प्रतियोगितामा गरी पछिल्ला पाँच खेलमध्ये चारमा पराजित भएको छ । शीर्ष चारमा छनौट हुने सम्भावनालाई जिवित राख्‍न लागीपरिरहेको लिभरपुलले अब आउँदो खेलमा सेफिल्ड युनाइटेडको सामना गर्नेछ ।