आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

कोरोनाको जीवाणु, कैदीको जीवन

स्रोतमा राष्ट्रिय समाचार समिति (रासस) जनाई फागुन १० गते गोरखापत्रको भित्री पृष्ठमा छापिएको एउटा समाचारमा मेरा आँखा केही मिनेट स्थिर रहे । द्रवीभूत भएको छु । लमजुङ्को बेसी-शहरमा रहेको कारागारमा राखिएका कैदी-बन्दीको टीठलाग्दो अवस्थाको वर्णन मैले दोहो~याई तेह~याईकन पढें, पढ्दै छु । जम्मा ३५ जनाको लागि उपयुक्त कारागारमा ९१ जना मानिस खाँदिएपछि के हालत हुन्छ होला, यसको आकलन जोसुकैले गर्न सक्छ । जुन शब्द र शैलीमा कारागृहको भौतिक संरचना र (अ) व्यवस्थापनको सजीव वर्णन गरिएको छ त्यसलाई उचित मूल्याङ्कन गरेर राससले आफ्नो संवाददातालाई प्रोत्साहित गरेकै होला, नगरेको भए गर्ने परिपाटी बसाल्नु आवश्यक छ । नत्र जनचेतना जगाउने र सरकारका सरोकारवाला निकायहरूलाई ~घच्‌घच्याउन कामलाग्ने किसिमका समाचार-कथाहरू सङ्कलन गर्न सकिंदैन ।

लमजुङ्का कैदी-बन्दी कति अस्वस्थकर अवस्थामा काल-क्षेपण गर्न बाध्य रहेछन् भन्ने कुराको अड्कल तीमध्ये कतिपयले उडुस मारेर रात बिताउँछन् भन्ने बेहोराले नै खुलस्त पारेको छ । उडुसको चर्चाले मलाई एकपल्ट कवि भानुभक्त आचार्यको को जमानामा पु~यायो । सरकारी हिसाब फर्छ्यौटमा समस्या परेर कुमारीचोकले थुनामा राखेका बखत उनले आफ्नू रिहाइको लागि बिन्ती बिसाउँदै चिफ् साहेबकहाँ अर्जीपत्रको को रूपमा पेश गरेको कविताबारे नेपाली समाज जानकार छ, सुनेको छ । हास्यचेत भएका ती कविले चिफ् साहेबको ध्यान आकृष्ट गर्न लेखेका पङ्ति निकै मार्मिक छन्:---

           लाङ्खुट्‌ट्या उपिञा उडूस यी सँगि छन् इन्‌कै लहड्मा बसी

            लाङ्खुट्‌ट्याहरु गाउँछन् ति उपिञा नाच्छन् म हेर्छू बसी ।

(शिवराज आचार्य सम्पादक रहेको ‘भानुभक्तकृत भाषारामायण’बाट) 

लामखुट्टे, उडुस र उपिञाको टोकाइको असर अहिले पनि उस्तै हो, भानुभक्तको पालाको जस्तै । अझ बढी होला किनभने यी जीवाणु अचेल नयाँ नयाँ रोग-व्याधिका स्रोत बन्न पुगेका छन् ।

गए साता प्रजातन्त्र दिवस (फागुन ७ गते) को अवसर पारेर देशभरिका कारागारबाट ५८० कैदी-बन्दी झ्यालखानाबाट छुटेका छन् । आधा कैद भुक्तान गरिसकेका र आफ्नो चाल-चलन सुधारेका कैदी-बन्दीले रिहा भएर स्वतन्त्र जीवन बिताउन पाएका छन् । उनीहरूलाई परिवारमा फर्किने र समाजमा घुलमिल हुने मौका आएको छ, आफन्तहरूलाई राहत मिलेको छ । हो, २०७७ सालको कैदी-बन्दीको रिहाइ विशेष चर्चामा पनि आयो किनभने हत्याका फरार १५ जना अपराधीलाई समेत राष्ट्रपतिबाट ‘आममाफी’ भएको कुरा प्रेसमा आएको देखियो । माफीको संवैधानिक प्रावधानको दुरुपयोग भएको छ भन्ने संविधानविद् भीमार्जुन आचार्यको टिप्पणी मूल खबरका साथ नयाँ पत्रिकामा छापिएको छ । ( १० फागुन )

एकदिन पनि थुनामा नबसीकन माफी पाउनेको कुरा अपवाद भयो, थुनामा बसेकाको वेदना र पीडा त्यस्तो बन्धन नबेहोरेकाले थाहा पाउँदैनन् । बच्चा नजन्माएकी स्त्रीले सुत्केरीको मर्म नबुझे जस्तै । यस यथार्थको राम्रो झलक राससको लमजुङ् समाचारमा वर्णित बेहोरामा भेटिन्छ । साँगुरो ठाउँमा धेरैजना सुत्नु-बस्नु पर्दा सरुवा रोगको जोखिम बेहोर्नु परेकै थियो, यसपालि कोरोना (कोभिड-१९) थपियो । जाडोको याम, सिमेन्टको चिसो २०२८ सालमा बनेको जीर्ण अवस्थाको बन्दीगृह । जुन-जुन जिल्लामा कारागार छन् तीमध्येमा सबैजसोमा पानी र सफाइको कमी रहन्छ । शौचालय पर्याप्त हुँदैनन् । वर्षौं थुनामा बसेर निस्केकाहरू शासनको बागदोर सम्हाल्न पुगेका हुन्छन् तैपनि कारागार र तिनको व्यवस्थापन  सरकारी प्राथमिकतामा पर्दैन । न बजेटको हिसाबले न सामयिक सुधारको कोणबाट ।

२०४७ सालको परिवर्तनको लगत्तै पछि बद्रीराम भण्डारीको संयोजकत्वमा बनेको अध्ययन दलको प्रतिवेदन मैले पनि एकपल्ट पढ्न पाएको थिएँ---अध्ययन दलका सदस्य राममणि रिसालको सौजन्यबाट । (प्राध्यापक रिसाल त्यसबखत सम्भवतः गृह मन्त्रालयको प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो) । त्यस प्रतिवेदनमा  परेका सुझाउ कति कार्यान्वयनमा गए जानकारी त छैन तर लमजुङ् कारागारको अहिलेको अवस्थाबारेको खबर पढ्दा परिस्थिति सुध्रेको अनुमान गर्न गाह्रो छ । काठमाडौंमा रहेको डिल्लीबजार खोर कस्तो हालतमा सञ्चालित छ त्यसको आधारमा अन्यत्रको स्थितिबारे अड्कल काट्न सकिन्छ । राजधानीमा भएको बन्दोबस्त हेरेर अन्यत्रको अवस्था आँके भैगयो ।

थरी-थरीका ‘अनुसन्धान’ का नाममा (निहुँमा) प्रहरीको हिराशतमा राखिने मानिसहरूको मामिला बेग्लै छ । यो छुट्टै अध्ययनको पाटो हुनसक्छ ।

बन्दी-जीवन बिताउने सबै  मानिस गलत काम गरेको वा अपराध कर्म गरेको कारणले बन्धनमा परेका हुँदैनन् यद्यपि कारागारको आवश्यकता अदालतले दोषी ठहर गरेका नर-नारीलाई दण्ड दिने सन्दर्भमा परेको हुन्छ । तर, जग-जाहेर छ, कतिपय मानिस परिबन्दमा परेका हुन्छन् । पुष्करशम्शेरको कथा ‘परिबन्द’ यसै समाजको उपज हो । अर्को कुरा, गरिवीमा बस्न बाँच्न विवश भएकाहरूको कानूनी बहस पैरवी कसले गरिदिने ? हुने-खानेहरूको कोपभाजनमा परेका मानिस त्यसै पनि फसाइएका हुन्छन् । दलगत राजनीतिका आधारमा सत्ता सञ्चालन गर्दा विपक्षीलाई तह लगाउने क्रममा सत्तापक्षले अनेक हतकण्डा प्रयोग गरेका हुन सक्छन् । भईरहेका छन् । भागबण्डामा परेर न्यायाधीश भएकाहरूबाट के न्याय निरुपण भएको होला र ? साथै, सञ्चारमाध्यममा बेला-बेलामा गैंडा चोरी शिकारी, गाँजा चरेस ओसार-पसारमा संलग्न भएका भनेर मानिस पक्राउ परेका घटनाको खबर निस्कन्छ । तर यस्ता मामिलामा खास व्यापार गर्नेहरू धनी र पहुँचवाला हुन्छन् ती कहिल्यै पक्राउ पर्दैनन्, बहुधा भरिया वा ज्यालादारी कामदारहरू नै  प्रहरीको फन्दामा परेका हुन्छन् । यसरी  नेक परिबन्दमा परेका मानिस कैदी-बन्दी हुन पुगेका हुन्छन् । तिनलाई दोहोरो तेहोरो अन्याय पर्नजान्छ । परेकै छ ।

जे भए तापनि, कैदी-बन्दीले बन्दीगृहमा रहँदा सरकारी कर्मचारीहरूबाट मानवीय व्यवहार पाउनु पर्दछ । तिनलाई थुनामा रहँदा पनि बाँच्न आवश्यक पर्ने अन्न-पानी र सफाइ र स्वास्थ्य समेतका सेवा प्रदान गरिनै पर्छ । बुझिने कुरा हो, सुख र सुविधा भने बन्दीगृहमा उपलब्ध हुन सक्दैन । आशा अपेक्षा गर्नु पनि हुँदैन ।

अहिलेको अवस्थामा मानवीय व्यवहार कोरोना (कोभिड-१९) को प्रकोपबाट कैदी-बन्दीलाई जोगाउने विषयमा केन्द्रित हुनुपर्छ किनभने यो हजारौंको संख्यामा रहेका मानिसको बाँच्न पाउने हकसित गाँसिएको छ । क्षमताभन्दा बढी कैदी राख्दा कैदीहरूले ‘मर्ता क्या न कर्ता’ को शैलीमा विद्रोह गर्न सक्छन् । गएको मंसिर/पुसमा श्रीलङ्कामा कैदीहरूले विद्रोह गर्दा सुरक्षाकर्मीले गोली चलाउनु प-यो र मानिसहरू हताहत भए । वैशाखतिर दक्षिण अमेरिकी देश पेरुमा पनि त्यस्तै घटना भएको थियो । अन्यत्र पनि यस्ता दृष्टान्त भेटिन्छन् । वस्तुस्थितिको गहिरो अध्ययन गरेर समयसापेक्ष निर्णय गर्न सरकारले ढिलो गर्नु हुँदैन ।

भौतिक दूरी कायम राखेर बसाउन सकिनेलाई राखेर अरू कैदी-बन्दीलाई जमानी वा तारेखमा रहने गरी परिवारको जिम्मा लगाइदिनु उचित होला । यसो गर्दा फौज्दारी अपराध (त्यसमा पनि जघन्य अपराध) मा परेकालाई थुनामै राख्ने तर दण्ड जरिवानाको रकम बुझाएर छुट्न सक्नेलाई छोडिदिने नीति अपनाउनु जायज होला । धरौटी, जरिवाना आदि तिर्न नसकेकै कारण थुनामा परेकालाई पनि सजिलो सँग रिहा गर्नु संभाव्य चुनौतीबाट जोगिने उपाय हो । भन्नै परेन, समयमा कदम उठाए जटिलता बेहोर्नु पर्दैन ।