बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता

काठमाडौं : पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्‍न मजदुरको ५ सय रुपैया  योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैया थप गरी मासिक १ हजार रुपैयाँको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । 

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन । योजनामा सहभागी करीब ७ सय असंगठित क्षेत्रका बिपन्‍न मजदुरहरुले ६० बर्ष पुगेपछि मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रूपमा एनआइसि एसिया बैंक छ ।

नगरपालिकाको यस कार्यक्रमलाई एनआइसि एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व  अन्तर्गत कोषको तर्फबाट १/१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख, उप-प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको  कदम, कोषको सहयोग र सहकार्यको प्रसंशा गरेका थिए ।