शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

ओलीले देशभर पञ्‍चभेला गर्दै हिडेका छन् : पूर्वप्रधानमन्त्री खनाल

फाइल तस्बिर

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (दाहाल-नेपाल समूह) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्‍चभेला गर्दै हिंडेको बताएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै देशभर पञ्‍चभेला गरेको बताएका हुन् । 

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले पत्रकारहरूसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्‍चभेला गर्दै हिंडेको बताएका हुन् । उनले आफू भारतमा रहँदा कुनैपनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारे । आफ्नो देशको समस्या आफै हल गर्नुपर्छ भन्‍ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरूसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए । 

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरूको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने पनि बताए । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताए ।