शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

‘नागरिक आन्दोलन’मै दब्छ युवाको आवाज

अन्तत: ‘टुँडिखेल मार्च’ टुँडिखेलभित्र पस्‍न सकेन

काठमाडौँ : उनीहरूको दाबी छ- बृहत् नागरिक आन्दोलन ‘विशुद्ध नागरिक’कै आन्दोलन हो । यो कुनै पार्टीमा आबद्ध मान्‍छेहरूको विद्रोह होइन । यो प्रतिगमनविरुद्धको आन्दोलन हो । कुनै स्वार्थपूर्तिका लागि जम्मा भएको भीड होइन । प्रतिगमनविरुद्धको यो नागरिक भीड शुक्रबार रत्नपार्कमा भेटियो । ‘टुँडिखेल मार्च’ नामको यो भीड दिउँसो २ बजे सहिद गेट हुँदै महांकाल मन्दिर पुगेको थियो । जहाँ दिनभरि युवाका आवाज दबाइयो । 

दृश्य १ : महांकाल मन्दिरको दक्षिणपट्टि खाली ठाउँ छ । त्यहाँ ‘नागरिक’को भीड एकीकृत भयो । अभियन्ता मोहना अन्सारीले मिनी ट्रकमाथि चढेर सभा सञ्चालन गर्न थालिन् । तर, यतिबेला भीडले ‘नागरिक के भन्‍छ, टुँडिखेल जाऊँ भन्‍छ’ नारा लगाउन थाल्यो । युवाले जति नारा घन्काए, अगुवाले त्यति नै बेवास्ता गर्न थाले ।

दृश्य २ : युवाहरूले टुँडिखेल छिर्न नारा लगाइरहेका छन् । तर, अगुवाहरू कोही भाषणमै मस्त, कोही चियापानमा व्यस्त । असन्तुष्ट युवाहरू उभिरहे । स्टेजबाट अन्सारी भन्‍छिन्- यता खाली ठाउँ छ, नउभिनुस्, यता आएर बस्‍नुस् । तर, युवाहरू मान्दैनन् ।

दृश्य ३ : असन्तुष्ट भीड एक घण्टा कराइसकेको छ । तर, उनीहरूलाई अगुवाले अझै बेवास्ता गरिरहेका छन् । प्लेकार्ड समाएका युवाहरू पनि हराउन थालेका छन् । भीड तितरविर हुन थालिसकेको छ । अन्तत: ‘टुँडिखेल मार्च’ टुँडिखेलभित्र पस्‍न सकेन ।

नागरिक आन्दोलनमै दब्छ असन्तुष्टि 
शुक्रबार नागरिक आन्दोलनका मानिसहरू शंखधर साख्वा पार्क (रत्नपार्क) नजिक भेला भए । उनीहरूको पूर्वनिर्धारित योजना थियो- टुँडिखेलभित्र प्रवेश गर्ने । टुँडिखेलभित्र अड्डा जमाएर बसेका सेना र सत्तालाई जनताको शक्ति देखाउने । टुँडिखेल भित्रैबाट नागरिक आन्दोलनको घोषणापत्र औपचारिक रुपमा सार्वजनिक गर्ने ।

यही उद्देश्य पूरा गर्न थुप्रै मानिस आन्दोलनमा सहभागी थिए । केहीले हातमा नारा लेखिएका प्लाकार्ड बोकेका थिए । केहीले मिडियामा आएका कार्टुनका चित्र छापिएका कार्ड बोकेका थिए । युवाहरु पनि आन्दोलनमा सहभागी भए । उनीहरुमा जोस भरिएको थियो ।

शंखधर साख्वा पार्कको अगाडिबाट आन्दोलनको टोली विद्युत् प्राधिकरण छेवैको बाटोतिर अगाडि बढ्यो । अघि-अघि लेखक खगेन्द्र संग्रौला, सरिता तिवारी, मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीलगायत थिए भने पछाडि-पछाडि युवा जमात थियो । पछाडि उभिएका युवाहरु ठूल-ठूला स्वरमा नारा लगाउँदै थिए । ‘प्रतिगमन मुर्दावाद ! नागरिक आन्दोलन जिन्दावाद ! टुँडिखेल हाम्रो हो, टुँडिखेल फिर्ता दे !’ भन्दै शासकलाई औँला ठड्याउँदै थिए । जोस र आवाज दुवै बुलन्द सुनिन्थ्यो ।

नाराबाजी गर्दै टुँडिखेल फन्को मार्दै गइरहेका थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार युवाहरु पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्न चाहन्थे । तर टुँडिखेलका सबै ढोका बन्द थिए । गेटमा प्रहरी जवान उभिएका थिए भने गेटभित्र सेनाका बन्दुकधारी जवान । गेटमा टाँसिएको बोर्डमा थियो, ‘प्रवेश निषेध, आधिकारिक व्यक्ति मात्र’ ।

आन्दोलनको नेतृत्व गरिरहेकाहरु गेटमा प्रहरी जवान देखेपछि टुँडिखेल प्रवेश गर्न चाहेनन् । बन्द गेट नियाल्दै आन्दोलनको नेतृत्व गरिरहेकाहरू छिचोल्दै अगाडि बढ्न थाल्यो । आन्दोलन टोलीले पश्चिमतिरका दुबै गेटबाट प्रवेश गर्न हिम्मत देखाएनन् । त्यो मार्च सरासर महांकाल मन्दिरको दक्षिणपट्टि पुगेर कोणसभामा परिणत भयो । कोणसभाको कार्यक्रम अघि बढाउने जिम्मेवारी मोहना अन्सारीले लिइन् । 

तर, जो आन्दोलनको सुरुदेखि नाराबाजी गर्दै सडकमा नागरिक आन्दोलनमा सहभागी थिए । जसले टुँडिखेल जनताको हो भन्दै नाराबाजी गरिरहेका थिए, उनीहरू भने त्यो कोणसभाप्रति असन्तुष्ट देखिए । उनीहरु टुँडिखेल प्रवेश गर्न चाहन्थे । जसका लागि उनीहरुले नाराबाजीसमेत गरे । चारपाङ्ग्रे सानो गाडीमा उभिएर मोहना अन्सारीले कोणसभाको सुरुवात गर्दै गर्दा अडियन्समा रहेका तिनै युवा भने नाराबाजी गर्दै थिए । युवाहरु भनिरहेका थिए- नागरिक के भन्‍छ, टुँडिखेल जाऊँ भन्‍छ !

उनीहरुको नाराबाजीले मोहना अन्सारीलाई कार्यक्रम सुरुवात गर्न सकस प¥यो । मोहना माइकमा केही बोल्न खोज्थिन् । तर, मोहनाको आवाजलाई ती युवाहरूको ‘टुँडिखेल जाने हो, जाने हो’ भन्ने नाराले डिस्टर्ब गरिरहेको थियो । ती युवालाई शान्त पार्न मोहनाले ‘ठीक है, जाने हो, चलेङ्गे-चलेङ्गे, एक बार एक नज्म पढ्लेँ, फिर चलेङ्गे ।’ तर, पनि उनीहरुको नाराबाजी रोकिएन । तब मोहना अन्सारीले चार पटक भनिन्, ‘हस् !’ 

त्यसपछि मोहनाले कार्यक्रम अघि बढाइन् । कापीमा हेर्दै कविताका एक एक लाइन सुनाइन् । त्यसपछि कविता पढ्न कविलाई पनि बोलाइन् । नेपाली, नेपालभाषा, लगायत विभिन्न भाषामा कविता पढ्न कविलाई मञ्चमा बोलाइन् । तर असन्तुष्ट युवाहरू बीचबीचमा भनिरहेका थिए- नागरिक के भन्‍छ, टुँडिखेल जाऊँ भन्‍छ ! 

तर उनीहरुलाई मोहनाले उसै गरी टारिरहिन् । सडकपट्टि उभिएका ती युवालाई मञ्चको देब्रेपट्टि खाली ठाउँमा आएर बस्न निर्देशन दिइन् । तर युवा आएनन् । त्यसपछि मोहनाले भनिन्, ‘अरे आ जाइए, इत्ना भि क्या घुस्सा ? घुस्सा दिखाने वालेको दिखाया जाएगा । इधर किनारे आ जाइए ।’  

तर उनीहरु आएनन् । मोहनाले बाँकी कार्यक्रम अगाडि बढाइन् । उनले वक्तामाथि वक्ता बोलाइन् । उनी आफैँले पनि हिन्दी, उर्दु, नेपाली भाषाका कविता सुनाइन् । संसद् विघटनदेखि टुँडिखेल अतिक्रमणसम्म । वाक् स्वतन्त्रता कुण्ठित भएकोदेखि श्रमको उचित मूल्य नपाएकोसम्म, कार्यक्रममा कवि तथा वक्ताहरुले यिनै विषयलाई उठान गरे । तीन घण्टाको कार्यक्रममा प्रजातन्त्रको मूल्य र मान्यतामाथि भएको प्रहार र नागरिक अधिकार र स्वतन्त्रतामाथि भएको तुषारापातबारे आवाज उठाए । 

कार्यक्रमको झन्डै एक घण्टा ती युवाहरु पनि जोससहित नाराबाजी गर्दै थिए । जो भन्दै थिए- नागरिक के भन्‍छ, टुँडिखेल जाऊँ भन्‍छ ! तर उनको आवाजको औपचारिक सम्बोधन भएन । एक घण्टासम्म पनि उनीहरुको मागबारे माइक बोकेकी मोहनाले वास्ता नगरेपछि उनीहरुले आफ्नो आवाज रोके । थप नाराबाजी गरेनन् ।

अन्तिममा नागरिक आन्दोलनलाई सम्बोधन गर्दै लेखक खगेन्द्र संग्रौला भने भन्दै थिए- ‘नागरिक आन्दोलनको शक्ति नागरिकहरूको टाउको गनेर नापिँदैन । नागरिक आन्दोलनको शक्ति प्रहरी भाइबहिनीहरूको टाउको गनेर नापिन्‍छ । आज यो सभामा जति नागरिकहरूको सहभागिता छ, त्योभन्दा बढी प्रहरी भाइबहिनीहरूको सहभागिता छ । तसर्थ, तानाशाह जब डराउँछ, नागरिकहरूसमक्ष आफूसँग भएको सबै शक्ति पठाउँछ । प्रहरी पठाउँछ । सेना पठाउँछ । ट्याङ्क पठाउँछ । तोप पठाउँछ ।’