शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक, दलबलसहित निर्वाचन आयोग जाने तयारी

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटीे बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुन लागेको बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुषालले जानकारी दिइन् ।

उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता, हस्ताक्षरसहित दाहाल-नेपाल पक्ष आधिकारिकता माग गर्दै निर्वाचन आयोग जाने विषयमा बैठकले निर्णय गर्नेछ । यसका लागि दिउँसो १२ बजे केन्द्रीय कमिटीका नेताहरुलाई पेरिसडाँडा बोलाइएको छ ।

नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको छैन् । आयोगले नेकपा नफुटेको आशयसहितको निर्णय गर्दा दाहाल-नेपाल पक्ष आक्रोशित छ । आफूसँग स्पष्ट बहुमत हुँदा पनि आयोगले आधिकारिकता नदिएपछि दाहाल-नेपाल पक्षले केन्द्रीय कमिटीका नेताहरुको नागरिकता र हस्ताक्षर आयोगलाई बुझाउने तयारी गरेको हो ।

दाहाल-नेपाल समूहले आधिकारिकताका माग गर्दै फेरि आयोगमा निवेदन समेत दिएको छ । तर आयोगले सो निवेदनमाथि अध्ययन भइरहेको बताएपनि निर्णय गर्न ढिलाई गरिरहेको दाहाल-नेपाल पक्षका नेताहरुको आरोप छ ।