शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

‘कति भान्सा अनि खेतबारी, खेलौँ फुटबल मिली सबै नारी’

दाङ : गढवा-५, लोखरपुर निवासी ४६ वर्षीय ढगनी चौधरीका दुई  भाइ छोराले विवाह गरिसके । परिवर्तन आमा समूहबाट यसपाली उनलाई पनि फुटबल खेल्ने रहर लाग्यो । घरपरिवारले नखेल्‍न भने पनि उनी मैदानमा गएरै छोडिन् । उनलाई फुटबल नखेल्‍न छोरा बुहारीले खुबै सम्झाएका थिए ।   तर, ढगनी फुटबल खेल्ने मनसायबाट डेग चलिनन् ।  

फुटबल हुने दिन उनी आफ्ना सहकर्मीसँगै एकाबिहानै जनता माध्यामिक विद्यालयको मैदानमा जर्सीमा देखिइन् ।  ‘घरकाले बुढो भइस्, खेल्न सक्दिनस् भन्थे,’ उनले भनिन्, ‘सुरुमा त मलाई पनि त्यस्तै लागेको थियो । तर मैदानमा आएर खेल्न थालेपछि सकियो ।’ उनी जस्तै यस वर्ष पनि विभिन्‍न आमा समूहबाट १ सय ४ जना आमाहरुले फुटबल प्रतियोगितामा भाग लिए । 

‘कति भान्सा अनि खेतबारी, खेलौँ फुटबल मिली सबै नारी’ भन्‍ने नारासहित क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले महिलाहरुलाई प्रतियोगिताको अवसर जुराएको थियो । गढवा-३, माधवपुरकी टीका घर्ती मैदानमा निकै फूर्तिका साथ फुटबल खेलिरहेकी थिइन् । जंगलकुटी आमा समूहबाट आएकी उनलाई मैदानमा राम्रो खेल खेलेको देख्दा दर्शकले पनि राम्रै साथ दिएका थिए ।

‘मानिसहरुले हामी विवाहित महिलालाई जहिले पनि घरको काममा मात्र सीमित देख्‍न चाहन्छन् तर, हामीले अवसर पाएमा केही गर्न सक्छौँ । हामीसँग पनि आत्मविश्‍वास छ । हाम्रो आत्मविश्‍वास बढाउने काम यस खेलमार्फत भएको छ’ टीकाले भनिन् ।

गढवा-५ बाँकी निवासी सिर्जनशील आमा समूहकी ४२ वर्षीय सितारामी चौधरी पनि फुटबल खेल्न मैदानमा आएकी थिइन् । ‘आजसम्म यस्तो खेल खेलेको थिइन । अझ डे«स लगाएर खेलाडी जस्तै भएर खेल्दा त सपना जस्तो लागिरहेको छ र केही गर्न सक्छु भन्‍ने आत्मविश्‍वास पनि बढेको छ,’ कल्पनाले हाँस्दै भनिन् । यसरी विवाहित महिलाहरू जर्सिकासाथ मैदानमा उत्रँदा दर्शकहरुले हुटिङ गरेर हौसला दिएका थिए ।

‘विवाहित महिलाहरुले आफ्नो जीवन परिवार र खेतीबारीमा समर्पित गर्दछन् । पुरुष प्रधान समाजमा विहे गरिसकेका महिलाहरुलाई काम बाहेक अरु कुरा सोच्न, खेल्न र मनोरञ्जनका लागि सोधिँदैन । खेलले समाजको सोचमा केही भए पनि परिवर्तन गरेको छ,’ सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले भने । प्रतियोगितामा सहभागी सबै महिला खेलाडीहरुलाई पुरस्‍कार दिइएको थियो ।