आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

गङ्गामायाको जीवन रक्षा गर्न सरकारलाई आयोगको निर्देशन

फाइल तस्बिर

काठमाडौँ :  राष्ट्रिय मानव अधिकार आयोगको मंगलबार बसेको बैठकले गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा उनको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । 

त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्रप्रसाद आचार्य नेपाल बाहिर रहेकोले आवश्‍क प्रक्रिया पुरा गरेर नेपाल झिकाएर अदालत उपस्थित गराउन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।