'लिभरपुल च्याम्पियन्स लिगमा बलियो'

काठमाडौँ : च्याम्पियन्स लिगमा मंगलबार राती लिभरपुल र आरबी लाइपजिग आमनेसामने हुँदैछन् । घरेलु लिगमा फिक्का देखिएको लिभरपुललाई जर्मन क्लब लाइपजिगले बलियो चुनौती दिने अपेक्षा गरिएको छ । प्रिमियर लिगमा पछिल्ला तीन खेलमा पराजय भोगेकाले पनि लिभरपुललाई लाइपजिगसँगको खेल फलामको चिउरा सावित हुने फुटबल विश्लेषकहरूको धारणा छ ।
तर लाइपजिगका प्रशिक्षक युलियान नागल्सम्यानले भने लिभरपुलको अहिलेको लयले खेलको सम्भावित नतिजामा फरक नपर्ने बताए । ‘लिभरपुलले लिगमा खराब नतिजा निकालिरहेको छ । तर च्याम्पियन्स लिगमा लिभरपुलले बलियो प्रदर्शन गरेको छ । फेरि लिभरपुलको ध्यान अहिले च्याम्पियन्स लिगमा छ । त्यसैले पनि मंगलबारको खेलमा लिभरपुलको सामना गर्दा हामी धेरै आत्मविश्वासी हुनु आवश्यक छैन,’ नागल्सम्यानले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने ।
उता लाइपजिग भने बुन्डेसलिगामा पछिल्ला तीन खेलमा अपराजित छ । जर्मन लिगको उपाधि दौडमा रहेको लाइपजिगले २१ खेलबाट ४४ अंक बटुलेको छ । लिग लिडर बार्यन म्युनिखले एक खेल कम खेल्दै ४८ अंक बनाएको छ ।
शनिबार लेस्टर सिटीसँग पराजित भएपछि लिग उपाधि रक्षा गर्ने सम्भावना सकिएको बताएका क्लपले लाइपजिगसँगको चुनौती हंगेरीको बुडापेस्टमा सामना गर्नेछन् । जर्मन सरकारले कोभिड-१९ का कारण यात्रामा प्रतिबन्ध लगाएपछि लाइपजिग र लिभरपुलबीचको खेल बुडापेस्टको पुस्कास ऐरेनामा सारिएको हो ।
युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा जर्मनीकै यार्गेन क्लपको सामना गर्न लागेका नागल्सम्यानले पूर्व बोरुसिया डर्टमन्ड प्रशिक्षकको तारिफ गरे । ‘क्लप युरोपका सर्वाधिक सफल प्रशिक्षकमध्येका एक हुन् । उनले खराब अवस्थामा रहेको डर्टमन्डलाई जर्मनीकै शक्तिमा रुपान्तरण गरे । लिभरपुललाई पनि उनले प्रिमियर लिग र च्याम्पियन्स लिग जिताए । क्लपसँग जुनसुकै क्लबलाई सफलता दिलाउन सक्ने क्षमता छ,’ नागल्सम्यानको भनाई थियो ।
सन् २०१८ र २०१९ मा च्याम्पियन्स लिग फाइनल पुगेको लिभरपुल र गत वर्ष सेमिफाइनलमा स्थान बनाएको लाइपजिगको खेललाई प्रतियोगिताकै रामोञ्चक भिडन्तका रुपमा लिइएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया