शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

प्रदर्शनमा भएको व्यापक सहभागिताले उत्साह थप्यो : कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको विरोध सभामा भएको जनसहभागिताले पार्टीमा उत्साह थपेको बताएको छ । ७७ वटै जिल्लामा विरोध सभा सम्पन्‍न भएपछि सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर विरोध सभा व्यापक सहभागिताका साथ सफलतापूर्वक सम्पन्‍न भएको बताएका छन् । 

प्रदर्शनमा देखिएको सहभागिताले सरकारको असफलता र कुशासनविरुद्ध जनभावना अभिव्यक्त गरेको देउवाले बताएका छन् । ‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

देउवाले प्रदर्शनमा सहभागी सबैमा पार्टीका तर्फबाट आभार प्रकट गरेका छन् । देउवाले विरोधका कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म अहोरात्र खट्ने  जिल्ला कार्यसमिति, भ्रातृ एवं शुभेच्छुक संघ र पार्टीको सबै तहका नेता कार्यकर्तालाई बधाई ज्ञापन गरेका छन् ।