शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

गृह सचिव र प्रहरी महानिरीक्षकसँग आयोग अध्यक्ष मगरले भने  : भागरथी हत्याका दोषीलाई कारबाही गर्नुस्

काठमाडौँ  : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यासम्बन्धमा कानुन मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्‍वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँग छलफल गरेका छन् । आयोग कार्यालयमा आइतबार भएको छलफलमा अध्यक्ष मगरले अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन् । 

अध्यक्ष मगरले न्यायका लागि अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल गर्न आग्रह गरे । 

भट्टको हत्यासम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवं सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै सरकारलाई आग्रह गरेको स्मरण अध्यक्ष मगरले कार्यक्रममा गराए । आयोगले यसअघि नै भागरथी घटनामा संलग्‍न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको थियो । 

अनशनरत अधिकारीको स्वास्थ्य अवस्थासम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन गर्दा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको देखिएको भन्दै अध्यक्ष मगरले ध्यानाकर्षण गराएका थिए ।