पर्यटकको पर्खाइमा रामकोट

दमौली : चिटिक्क परेका घर । अगाडि ढुङ्गा छापिएको सडक । प्रत्येक घरअगाडि मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो । मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् ।
विसं २०७५ मा १४ घर दर्ता गरेर रामकोट घरवास व्यवस्थापन समिति दर्ता गरिएको थियो । कोभिड-१९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले बताए । चौध घरले तालिम लिएर सुरु भएको रामकोट घरवासमा अहिले ४० घरमा पर्यटक राख्न मिल्नेछ ।
'कोभिडअगाडि अलि–अलि आन्तरिक पर्यटक आउने क्रम थियो तर कोभिडले रोकियो', उनले भने, 'कोभिडको प्रभाव कम हुँदै गएपछि अहिले फेरि पर्यटक आउन थाल्नुभएको छ ।' रामकोट आउने पाहुनालाई स्थानीय युवा क्लबले सांस्कृतिक कार्यक्रम देखाउने गरेको छ । 'स्थानीय संस्कृति र अग्र्यानिक खानेकुरालाई जोड दिएका छौँ', उनले भने, 'यहाँ आएका आन्तरिक पर्यटक सन्तुष्ट नै भएको पाएका छौँ ।'
यहाँका स्थानीयवासीलाई घरवास आर्थिक उपार्जनको माध्यमसमेत बनेको छ । पृथ्वी राजमार्गको व्यास नगरपालिका-१२ छिर्कने हुँदै र बन्दीपुर बजारबाट रामकोट पुग्न सकिन्छ । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारबाट रामकोट पुग्न साइकल लेनसमेत निर्माण गरेको छ । बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।
'रामकोटको घरवासलाई जोड्ने उद्देश्यसहित गाउँपालिकाले ४.८ किलोमिटर साइकल लेन निर्माण गरेको छ', थापाले भने, 'यसले समग्र गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउँछ ।' घरवास सञ्चालनले ग्रामीण भेगका जनतालाई स्वरोजगार बन्न सहयोग पुर्याएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । रामकोट सामुदायिक घरवासलाई यस वर्ष गण्डकी प्रदेश सरकारको तर्फबाट रु १० लाख अनुदानको व्यवस्था भएको छ ।
रामकोटमा कायमै छ कटुवाल प्रथा
सञ्चारको सुविधा विकसित भए पनि तनहुँको बन्दीपुर गाउँपालिका-३ रामकोटमा अझै पनि कटुवाल प्रथा कायमै छ । स्थानीयवासी नरसिंह थापाले विगत छ वर्षदेखि गाउँमा कटुवालको रूपमा काम गर्दै आएका छन् ।
गाउँमा हुने बैठक, कार्यक्रम, पूजाआजालगायतका बेला थापाले घोक हालेर सूचना प्रवाह गर्दै आएका छन् । कटुवालको कामलाई घोक फिराउने भनेर बुझिन्छ । उनका बाबुले पनि रामकोटमा कटुवालको काम गर्दै आएका थिए । बाबुको निधनपछि गाउँलेले आफूलाई कटुवालमा नियुक्त गरेको उनले बताए । 'गाउँमा केही कार्यक्रम, पूजाआजा भयो भने मैले सबैलाई घोक हालेर सूचना दिने गरेको छु', उनले भने, 'त्यसबापत गाउँलेले वार्षिकरूपमा धान, मकैलगायतका अन्न दिने गरेका छन् ।'
स्थानीय महिला बिहिसरा आलेले गाउँमा सूचना प्रवाह गर्नुपर्दा थापाले घोक हाल्ने गरेको बताए । उनकाअनुसार घरघरमा मोबाइल, रेडियो भए पनि थापाले घोक हालेपछि मात्रै सबै गाउँले जम्मा हुने गरेका छन् । 'यहाँ वर्षौदेखि चलिआएको चलन हो', उनले भने ।
बिजुली पुगेपछि स्थानीयवासी खुसी
वर्षौँसम्म अन्धकारमा जीवन बिताउँदै आएकी तनहुँको घिरिङ गाउँपालिका–१ निवासी पार्वती शाहीको मुहार आजभोलि उज्ज्यालो छ । टुकी र मैनबत्तीको सहारामा जीवनयापन गर्दै आएकी उनको घरमा अहिले बत्ती बल्न थालेको छ । 'बिजुली बत्तीको आसमा बसेको थुप्रै वर्ष भयो, बत्ती बाल्ने चाहना लामो समयपछि पूरा भएको छ', शाहीले भनिन्, 'बत्ती बलेपछि सहज हुने भयो ।'
घिरिङ गाउँपालिका–४ गलकोटकी श्रीमाया थापाले ‘बत्ती बाल्न पाइएला र ?’ जस्तो लाग्ने गरे पनि अहिले बत्ती बलेको देख्दा खुशीको सीमा नै नरहेको बताइन् । 'यत्तिका वर्षसम्म बत्ती नआउँदा अब बत्ती बाल्न पाइँदैन होलाजस्तो लाग्थ्यो तर अहिले त घर नै उज्यालो भएको छ', उनले भनिन् ।
स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आसमा बसेका स्थानीयवासीको मुहारमा खुसी छाएको बताए । 'बत्ती कहिले बल्ला भनेर लामो समय कुर्यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो', उनले भने । स्थानीय तहको निर्वाचनपश्चात् गाउँपालिकामा आएका जनप्रतिनिधिको प्रयासबाट घिरिङका सबै घरधुरीमा विद्युत् सेवा पुगेको छ । सबै घरधुरीमा विद्युत् सुविधा पुगेपछि घिरिङ गाउँपालिका अँध्यारोमुक्त बन्न सफल भएको छ ।
घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले लामो समयको प्रयासपछि सबै घरधुरीमा बत्ती बाल्न सकिएको जानकारी दिए । 'बत्ती नपुगेका घरहरुमा बत्ती पुर्याउन निरन्तर काम गर्यौ, कोभिडको महामारीका बीचमा पनि कतिपय गाउँहरुमा बत्ती बाल्न सफल भयौँ', थापाले भने, 'हालसम्म अँध्यारोमा बस्दै आएका स्थानीयवासीको मुहारमा खुसी ल्याउन सफल भएका छौँ ।'
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत् सेवा विस्तारलाई तीव्रता दिएको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न भएको बताए । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि करिब एक हजार ५०० भन्दा बढी घरमा विद्युत् सेवा विस्तार भएको उनले जानकारी दिए ।
'गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पुर्याउने प्रतिबद्धता पूरा भएको छ', उनले भने, 'विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरणले पनि सहयोग पुर्यायो ।' अध्यक्ष रानाका अनुसार गाउँपालिकामा जनप्रतिनिधि आउनुअगाडि १० प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको थियो । 'हालसम्म टुकी, मैनबत्तीको भरमा बस्दै आएका स्थानीयवासीलाई अँध्यारोबाट मुक्त पार्छौँ भनेर प्रतिबद्धता जनाएका थियौँ, उक्त प्रतिबद्धता पूरा गर्न सफल भएका छौँ', उनले भने ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशतभन्दा बढी घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी छ ।
वितरण केन्द्रले गत आर्थिक वर्षमा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सबस्टेशन निर्माण गरिएको छ । उक्त सबस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ । साथै सोही सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्याइनेछ । रासस

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_m3qS5EJLPR_nxpndjyipsi6rtjqcsec0r8fqm0sw8uhwywondf6ac0xvn0y5a1ixyc2mjci.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_aJBwQrHN5h_708186pzfqgfjd2ekl5qul4mrl7fgruik1nrua7w2r3ked7it963vcfr1fv6.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया