बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

इटलीमा म्यारियो ड्रागीले लिए प्रधानमन्त्रीको शपथ

रोम :  इटलीको प्रधानमन्त्रीका रूपमा म्यारियो ड्रागीले शनिबार शपथ ग्रहण गरेका छन् । यूरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र इटलीमा केही हप्तादेखि राजनीतिक अन्यौलता कायम रहेको थियो ।

राष्ट्रपति सर्गियो माटेरेलाले उनलाई प्रधानमन्त्रीको शपथ गराएका हुन् । राष्ट्रपति भवनमा भएको शपथ कार्यक्रममा उनले भने, “म गणतन्त्रप्रति इमान्दार भई काम गर्ने प्रतिवद्धता जाहेर गर्छु । 

शपथ ग्रहणपछि सञ्‍चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू गणतन्त्र इटलीको राजनीतिक स्थिरताका लागि इमान्दार रहने बताए । उनले भने, “म इटलीमा कोभिड-१९ का कारण परेको आर्थिक तथा सामाजिक समस्यालाई हल गर्दै अघि बढ्न नैतिक तथा विवेकपूर्ण तरिकाले लागि पर्नेछु ।” 

यूरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुखसमेत रहेका प्रधानमन्त्रीको आगमनसँगै रोमले कोभिड-१९ का कारण थला परेको अर्थतन्त्रलाई उकास्‍न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा इटलीका जनता, राजनीतिक पार्टी, उद्योगपछि तथा व्यवसायी आशावादी बनेका इटलीका सञ्‍चारमाध्यमले बताएका छन् । (रासस)