प्रदेश २ सरकारको सडक सञ्जाल योजना अलपत्र
जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशको स्तोरन्नतीका लागि संघ सरकारको योजनामा नपरेका करिब ३ हजार ४ सय किलोमीटर सडक निर्माण गर्ने अघि सारेको गुरुयोजना अलपत्र परेको छ । गत वर्षदेखि नै कार्यान्वयन हुने भनेर भौतिक पुर्वाधार विकास मन्त्रालयले ३ हजार ३ सय ९२ किलोमिटरको प्रादेशिक सडक निर्माण गर्ने दिर्घकालिन योजना अघि सारेको थियो ।
संघ सरकारको रणनैतिक सडक सञ्जालमा नपरेका सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने सडक, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक र दुई राष्ट्रिय लोकमार्ग जोड्ने सडक निर्माण गर्ने सो योजनामा समेटिएको थियो । प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गतवर्षको फागुन महिनामा पत्रकार सम्मेलन नै आयोजना गरी प्रादेशिक लोकमार्ग एक हजार ४ सय ९७, सहायक प्रादेशिक लोकमार्ग १ हजार दुई सय ६१ र अन्य प्रादेशिक सडक ६ सय ३४ गरी कुल ३ हजार ३ सय ९२ किलोमीटर सडक निर्माण गुरुयोजना अघि सारिएको जानकारी दिएका थिए ।
तीन वटा पञ्चवर्षीय योजना १५ वर्षमा सक्न ९७ अर्बभन्दा बढीको लागतमा निर्माण गर्ने गरी अघि सारिएको थियो । दीर्घकालिन योजना प्राथमिकताको आधारमा पहिचान गरिएका सडक, पुलपुलेसासहित मरम्मत सम्भार गरिने भनिएको थियो । सडक निर्माणतर्फ ८३ अर्ब १६ करोड, पुलपुलेसा निर्माण तथा मर्मत सम्भारतर्फ १० अर्ब ५३ करोड र सडक मर्मत सम्भारतर्फ ३ अर्ब ७२ करोड खर्च लाग्ने अनुमान सो गुरुयोजना अन्तर्गत गरिएको थियो ।
कुल ९७ अर्बभन्दा बढी खर्च अनुमान गरिएको प्रदेशको आम्दानी विभिन्न श्रोत र बजेट गरी प्रतिवर्ष मात्र १ अर्ब ४२ करोड रुपैया रहेकोमा यो योजनाका लागि बांकी ७२ अर्ब ८९ करोड अपुग रकमको लागि संघ सरकारको सहयोगमा विभिन्न दातृ निकायसँग पहल गरी कार्यान्वयनमा ल्याइने मन्त्री सोनालले बताएका थिए । प्रादेशिक सडक सञ्जालको गुरुयोजना अघि सारिए पनि प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रालयले सो योजना कार्यान्वयनमा चासो नदिई अधिकांश बजेट ग्राभेल, पीसीसी ढलान र मठ मन्दिर निर्माणमा मात्र बजेट छुट्यायो ।
प्रादेशिक सडक निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू वर्षको लागि ५ करोड रुपैयाँ छुट्याएको छ । तर, कुन सडकलाई प्रादेशिक सडकमा राख्ने र कुन सडकलाई सहायक तथा अन्य सडक मार्गका रूपमा विकास गर्ने भन्ने टुंगो अहिलेसम्म लगाउन सकेको छैन । प्रादेशिक सडक सम्बन्धी ऐन पनि प्रदेश सभाबाट पारित भएको दुई वर्ष बितिसकेको छ । सो ऐन अनुसार नै सडक सञ्जालको गुरुयोजना अघि बढाउन भनिएको थियो । तर, मन्त्रालयको सुस्त कार्यले गर्दा योजना थन्किएको सरकारकै पदाधिकारीले बताउँछन् ।
योजना थन्किएको विषयमा मन्त्री सोनलले बोल्न मानेनन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता कृष्णकुमार मिश्रले भने, ‘प्रादेशिक सडक ऐन त आयो, तर त्यसको नियमावली र कार्यविधि निर्माण अहिलेसम्म हुन सकेको छैन, नियमावली नै नभएका कारण कुन सडकलाई प्रादेशिक सडकमा राख्ने र कुनलाई सहायक सडक मान्ने छुट्याउन नसकिएको कारण योजना अघि बढ्न नसकेको हो ।’
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

आज लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

प्रतिक्रिया