पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

वासिङ्टन : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा मंगलबारदेखि सुनुवाई सुरु हुँदैछ । अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता भएको यो पहिलो घटना हो । पूर्वराष्ट्रपति ट्रम्पका तर्फबाट सिनेटमा जवाफ दिन नियुक्त वकीलहरूले सिनेटमा विचाराधीन महाभियोग प्रस्ताव राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन् ।
तर महाभियोग दर्ता गरेको डेमोक्रेटिक पार्टीले भने अमेरिकी संसद् भवनमा गत जनवरी ६ का दिन आक्रमण गर्न आफ्ना समर्थकलाई उक्साएर सत्ताविद्रोह गर्न खोजेको बताएका छन् । घटनामा एक प्रहरी अधिकृतसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद् भवनभित्र व्यापक तोडफोड र क्षति पुगेको थियो ।
ट्रम्प समर्थकको आक्रमणपछि अमेरिकी तल्लो सदनले तत्कालीन राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव पारित गरी सिनेटमा अनुमोदनका लागि पठाएको थियो । यद्यपी राष्ट्रपति ट्रम्पको कार्यकाल गत जनवरी २० मै समाप्त भई नयाँ राष्ट्रपति जो वाइडनले पदभार ग्रहण गरिसकेका छन् ।
तर अमेरिकी संविधानबमोजिम पहिल्यै सिनेटमा दर्ता भइसकेको महाभियोगको प्रस्तावमाथि मंगलबारदेखि सुनुवाई सुरु हुन लागेको हो । सिनेटमा रिपब्लीकन पार्टीका केही सदस्यले ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा महाभियोग प्रस्तावलाई अगाडि बढाउन उचित नहुने तर्क गरिरहेका छन् ।
सिनेटका केही रिपब्लीकन सदस्यले भने महाभियोग सही र उपयुक्त रहेको बताए पनि अन्तिम मतदानमा सहभागी हुने वा नहुने स्पष्ट भइसकेको छैन । अमेरिकी राष्ट्रपतिमाथिको महाभियोग प्रस्ताव पारित हुन सिनेटको दुई तिहाई मत आवश्यक पर्दछ ।
एक सय सदस्य रहने अमेरिकी सिनेटमा हाल डेमोक्रेट र रिपब्लीकन पार्टीको बराबर अर्थात् ५०/५० स्थान रहेको छ । राष्ट्रपति जो वाइडनले ट्रम्पमाथिको महाभियोगबारे आफूले कुनै पक्ष नलिने बरु सिनेटले नै यसबारेमा निर्णय गर्ने विचार व्यक्त गरेका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले राष्ट्रपति वाइडनले यसअघि चुनावकै दिनहरुमा राष्ट्रपतिका रूपमा ट्रम्प उपयुक्त व्यक्ति नभएको भनाइ सार्वजनिक गरिसकेका उल्लेख गरेकी छन् । सिनेटमा महाभियोग पारित भए सिनेटको सामान्य बहुमतले भावी दिनमा ट्रम्पले राष्ट्रपतिका रूपमा उम्मेदवार हुनबाट रोक्नेछ । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया