आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

महामारी प्रताडित व्यवसाय बचाउन आइएफसीको ४ अर्ब डलर लगानी

काठमाडौं : अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले गरिब देशहरुमा कोभिड-१९ महामारी प्रताडित व्यवसाय बचाउन ४ अर्ब अमेरिकी डलर लगानी गरेको छ । गत मार्च महिनामा आइएफसीको सञ्‍चालक समितिले कोभिड-१९ सम्बन्धित प्रतिकार्यका लागि ८ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमति दिएको थियो । अहिलेसम्मको ४ अर्ब अमेरिकी डलर लगानीले गरिब र नाजुक राष्ट्रहरुलाई पनि अन्य विकासशील र उदयमान देशहरुजस्तै कोभिड-१९ को जोखिम विरुध्द लड्न सहयोग पुर्‍याएको छ ।

‘निजी क्षेत्रलाई प्रदान गरिएको सहयोगले चरम गरिबी न्यून गर्दै समावेशी, दीगो र उत्थानशील अर्थतन्त्र विकासका लागि सहयोग गर्छ,’ विश्व बैंकका अध्यक्ष डेभिड मल्पासलाई उद्धृत गर्दै आइएफसीले भनेको छ, ‘हाम्रो द्रुत गतिमा आइएफसीमार्फत् अघि बढाएको प्रतिकार्यले निजी क्षेत्र र वित्तिय संस्थाहरुमा नगदप्रवाह निरन्तर भइ चालु पुँजी, रोजगारी सिर्जना र व्यापार सहजीकरण होस् भन्ने नै उद्देश्य हो ।’

कोरोना भाइरसको महामारी फैलिएसँगै आइएफसीले ८ अर्ब अमेरिकी डलर निजी क्षेत्रका कम्पनीहरु बचाउनका लागि छुट्याएको थियो । विश्व बैंक समूहको सदस्य अइएफसीले निजी क्षेत्र विकासका लागि का मगर्दै आएको छ । व्यापारका लागि पुँजी उपलब्ध गराउन आइएफसीले २ अर्ब अमेरिकी डलर छुट्याएको थियो । यसले वित्तिय संस्थाहरुमा नगदप्रवाहमा सहयोग गर्दै व्यापार, लघु, घरेलु र मझौला उद्योगलाई सहयोग पुर्‍याएको थियो । नेपालमा लघु, घरेलु र साना मझौला उद्यमले कुल गार्हस्थ उत्पादनको झण्डै २२ प्रतिशत हिस्सा ओगटेका छन् भने साढे १७ हजारले रोजगारी पाएका छन् । 

आइएफसीले बैंक तथा वित्तिय संस्थामार्फत् प्रदान गरेको तरलताले व्यवसायिक कम्पनीहरुलाई ठूलो सहयोग प्राप्त भएके थियो  । व्यवसायमा गिरावट आइ तत्काल रोजगारी र तत्काल हुनसक्ने क्षति निवारणमा सहयोग पुर्‍याइरहेको छ । आइएफसीले सबै क्षेत्रका व्यवसायलाई सहयोग पुर्‍याउन थप २ अर्ब अमेरिकी डलर स्रोतको प्रतिवध्दता जनाएको छ । यो रकम स्वास्थ्य सुरक्षादेखि महामारीले आक्रान्त पर्यटन क्षेत्रको पुनर्स्थापनाको विषय पनि यसमा समावेश छ ।  ६२ करोड अमेरिकी डलर भने निजी क्षेत्रका ग्राहकहरुको माग सिर्जना गर्न सक्ने क्षमता विकास लागि लगानी हुनेछ ।
 
यसका अतिरिक्त विश्‍व बैंककै अन्तर्राष्ट्रिय विकास संघको निजी क्षेत्र इकाइले व्यापारमा लगानीका लागि ग्यारेन्टी दिनुका साथै साना मझौला उद्यमका लागि ऋण प्रदानका लागि २८ करोड अमेरिकी डलर स्रोत विनियोजन गरेको थियो । आइएफसीले महामारीको समयमा प्रतिकार्य सशक्तीकरण तथा जनस्वास्थ्यका क्षेत्रमा आवश्यक हस्तक्षेप र कोभिड-१९ को अनुगमनका लागि उक्त स्रोत लगानी गरेको हो । विश्व बैंक समूहले आइएफसीको ४७ अर्ब अमेरिकी डलरसमेत गरी आगामी १५ महिनामा १६० अर्ब अमेरिकी डलर परिचालन गर्न सक्छ ।