शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

अझै सम्पन्‍न भएन इमाडोल-लामाटार सडक

काठमाडौँ : विस्तारको क्रममा रहेको इमाडोल-लामाटार सडक निर्माण सुरु भएको चार वर्ष नाँघीसक्दासमेत अझै सम्पन्‍न भएको छैन । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्रे तीन वर्षमा सम्पन्‍न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण सुस्त भएको हो । 

काठमाडौँ उपत्यकाका अरु स्थानमा जस्तै सडक छेउमा घर भएका स्थानीयबासीले घर र जग्गाको मुआब्जा माग गरिरहेकाले निर्माणमा ढिलाई भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । अहिले सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने गरी काम अघि बढाइएको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले जानकारी दिए ।  'विस्तार सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने मन्त्रिपरिषद्को निर्णयानुसार नै काम भइरहेको छ' उनले भने । 

पहिले कम चौडाइ रहेको सो सडकलाई २० मिटर चौडा गर्ने र सडकमा ढल, पैदल यात्रु मार्गलगायतका संरचना निर्माण गर्न विसं २०७३ र २०७४ मा ठेक्का सम्झौता भएको थियो । स्थानीयवासीले घर भत्काउन नमानेर सङ्गठितरुपमा अवरोध गर्दा लामो समयसम्म काम ठप्प भएको आयोजनाले जनाएको छ । 

सडकको अधिकार क्षेत्रमा रहेका रुख र बिजुलीका खम्बा हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको आयोजनाले जनाएको छ । अहिले अवरोध हटाएर उपलब्ध चौडाइका काम अघि बढाइएको सूचना अधिकारी देवकोटाले बताए । 'जेठसम्ममा सम्पन्‍न गर्ने गरी काम भइरहेको छ' उनले भने । 

तीन खण्डमा विभाजित सो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी, लामा समानान्तर जेभीलाई दिइएको थियो । तीन फरक-फरक ठेक्कामध्ये डाँफे-समानान्तर जेभीले काम गरिरहेको तीन दशमलव १२ किमी सडकको प्रगति ७५ प्रतिशत छ भने आशिष सिए-ड्रागन जेभीको प्रगति ९५ प्रतिशत छ । लामा-समानान्तर जेभीले काम गरिरहेको चार किमी सडकको प्रगति ८० प्रतिशत छ । तीनमध्ये एउटा ठेक्काको अवधि गत पुसमा सकिएको छ ।  रासस