मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

साधारण सभाबाट पारित लाभांश अर्थ मन्त्रालयले घटाएपछि नेपाल बैंकका अध्यक्षले दिए राजीनामा

काठमाडौँः साधारण सभाले अनुमोदन गरिसकेको लाभांश अर्थ मन्त्रालयले घटाइदिएपछि नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अधिकारी २०७५ पुस २५ मा नेपाल बैंकको अध्यक्ष बनेका थिए ।

गत आर्थिक वर्ष २०७६–७७ को नाफाबाट नेपाल बैंकले १२ प्रतिशत बोनस सेयर ४ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिने भएको थियो । अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था ऐनको प्रावधान विपरित गएर पारित भएको लाभांश जम्मा १० प्रतिशतमा झार्नु भनेपछि अधिकारीले राजीनामा दिएका हुन् । 

अर्थले बैंक तथा वित्तीय संस्था कानुनको उल्लंघन हुनेगरी लाभांश घटाउन निर्देशन दिएपछि अधिकारीले कानुनलाई चुनौती दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् । अर्थ मन्त्रालयले कानुन विपरित दिएको निर्देशन पालना नगर्ने भन्दै उनले अर्थ मन्त्रालयमा राजीनामा बुझाइसकेका छन् । 

सबै बैंक तथा वित्तीय संस्थालाई एकै कानुन लागू हुनेमा अर्थ मन्त्रालयले निर्देशन दिदैंमा सरकारी बैंकले कानुन मान्नु नपर्ने भन्ने हुँदैन । तर अर्थ मन्त्रालयले कानुन विपरित दलील गर्नु नै आश्चर्यपूर्ण छ । 

अर्थले संस्थानहरूकै शैलीको व्यवहार बैंक तथा वित्तीय संस्थासँग पनि गर्न खोजेको देखिएको छ । हालकै अर्थसचिव शिशिर ढुङ्गानाले साल्ट ट्रेडिङ लिमिटेडलाई पनि लाभांश वितरण गर्नबाट तीन वर्षदेखि रोक्दै आएका छन् ।