आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विराेधसँगै घेरे टुँडिखेल

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धमा नेपाली कांग्रेसका १९  शुभेच्छुक संस्थाहरूले  संयुक्त रूपमा टुँडिखेल घेराउ गरेका छन् । उनीहरूका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह-समूहमा जम्मा भएर प्रतिनिधि सभा विघटनको मौन विरोध गरेका हुन् ।

नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रेस युनियनलगायत १९ शुभेच्छुक संस्थाहरूको आहृवानमा शनिबार टुँडीखेल घेरेर मौन प्रदर्शन गरेका हुन् । शुभेच्छुक संस्थाहरूले ७७ जिल्लाकै सदरमुकाममा प्रदर्शन गरेका हुन् । 

सहभागीहरूले सर्वसत्तावाद मुर्दावाद, प्रतिनिध सभा पुनर्स्थापना गर, महामारीमा पनि भ्रष्टाचार, संवैधानिक सर्वोच्चता कायम गर, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनि दिएन राहत जस्ता नारा लेखिएका प्ले कार्ड बोक्‍दै मौन प्रदर्शन गरेका हुन् । 

दुई तिहाइ बहुमतको सरकारले नागरिकको दैनिकीलाई सहज बनाएर कोभिड-१९ को खोप दिनुपर्ने अवस्थामा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठूलो आर्थिक व्ययभार परेको पनि उनीहरूले बताएका छन् ।

यस्ता कार्यको उनीहरूले विरोध गर्नुको विकल्प नभएको भन्दै सरकार सच्चिनुपर्नेमा जोड दिएका थिए । सरकारको व्यवहार तानाशाह झै भएको भन्दै यस तर्फ सबै सचेत हुनुपर्ने उनीहरूको जोड थियो । 

उनीहरुले सरकार मुलुकमा भएका समस्याहरूप्रति गैरजिम्मेवार मात्र होइन संविधान र विधिको शासनप्रति संवेदनशील नभएको आरोप लगाए । सरकार किन नागरिकप्रति उत्तरदायी नभएको भन्दै यसको विरोधमा आम नागरिक लाग्‍नु पर्ने पनि बताए । 

कांग्रेसका शुभेच्छुक संस्थाहरूले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधि सभा विघटन गर्नुलाई भर्त्सना गर्दै जनताको सर्वोत्तम हितको रक्षा, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सबैसँग अपिल गरेका छन् ।

कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका हुन् । यसअघि कांग्रेसका भातृसंगठनहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए । यसअघि पुस १३, पुस २५, माघ ३ र माघ ८ मा विभिन्‍न तहमा नेपाली कांग्रेस र भ्रातृ संस्थाहरूबाट व्यापक सहभागितासाथ प्रदर्शन गरिसकेको छ । 

शुभेच्छुक संस्थाहरुको प्रदर्शनपछि  फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्वनिर्धारित रहेको  छ । कांग्रेसले परिस्थितिलाई मुल्यांकन गर्दै विस्तारै आफ्ना कार्यक्रम अघि बढाएको छ ।