शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

यसरी आएको थियो पाकिस्तानी संसद्‌मा मोदीको नाम

केही भारतीय सञ्चारमाध्यमले छिमेकी पाकिस्तानको संसद्‌मा सांसदहरूबीच चर्काचर्की बहस भइरहेका बेला जानाजान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिइएको दाबी गर्दै समाचार दिए । फ्रान्समा एक शिक्षकको हालै गरिएको हत्यासँग सम्बन्धित विषयमा संसद्‌‌मा भइरहेको बहसमा मोदीको नाम जानाजान लिइएको सञ्चारमाध्यमहरूले दाबी गरेका हुन् ।

तर के पाकिस्तानका सांसदहरूले साँच्चै संसद्‌मा भारतीय प्रधानमन्त्रीको नाम लिएका हुन् ? सोमबार पाकिस्तानका विपक्षी नेता खवाजा आसिफलगायत अन्य सांसदहरूले एउटा प्रस्तावमाथि मतदानका लागि दबाव दिँदै थिए । यसै महिनाको सुरुमा फ्रान्सको पेरिसनजिकै एक जना शिक्षकको हत्या गरिएको थियो । पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन देखाएर कक्षामा पढाएको भन्दै उनको हत्या गरिएको ठानिएको छ ।

त्यस्तो विवादास्पद कार्टुन छापिएको विषयमा आपत्ति जनाउँदै एउटा प्रस्तावमाथि मतदान हुनुपर्ने खवाजालगायतका सांसदहरूले दबाव दिइरहेका थिए । ती शिक्षकको हत्यापछि फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले जनाएको प्रतिक्रियाले अरब विश्वलाई आक्रोशित पारेको थियो र पाकिस्तानका प्रधानमन्त्रीले पनि आलोचना गरेका थिए ।

पाकिस्तानको संसद्‌मा भएको बहस
तर सरकार र विपक्षीहरू उक्त विवादलाई लिएर आ-आफ्नै प्रस्तावहरू पारित गर्न दबाव दिँदै थिए । बहसका क्रममा एउटा समयमा, विदेशमन्त्री शाह महमुद कुरैशीले सदनलाई सम्बोधन गर्नै लाग्दा, विपक्षी सदस्यहरूले 'भोटिङ, भोटिङ' अर्थात मत हालौँ भन्दै चिच्याउन थाले ।

उनीहरू सरकारको तर्फको प्रस्तावमाथि नभई आफ्नो पक्षले प्रस्तुत गरेको प्रस्तावमाथि मत हाल्न माग गरिरहेका थिए । कुनै प्रसङ्ग बिना दुई मिनेटको छोटो त्यही दृश्य मात्रै भारतीय सञ्चारमाध्यम र लोकप्रिय सामाजिक सञ्जालहरूमा प्रसारण र प्रकाशन भयो ।

सरकार समर्थकहरूले उर्दू भाषामा स्पष्ट रूपमा 'मोदीका जो यार है, गद्दार है, गद्दार है' अर्थात् मोदीका जो मित्र हुन् ती देशद्रोही हुन् भनेका थिए ।

टाइम्स नाउ, इण्डिया टिभी, द इकोनोमिक टाइम्स र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसैलाई विपक्षीहरूले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई असजिलो पार्न 'मोदी, मोदी' भन्दै चिच्याएको भनी दाबी गरे । द इकोनोमिक्स टाइम्सले त्यसपछि समाचार हटाएको छ भने टाइम्स नाउले आफ्नो ट्वीट मेटेको छ । तर पाकिस्तानी बहसको उक्त सामग्रीसहितको समाचार इन्टरनेटमा छँदै छ ।

के त्यसो भए मोदीको नाम संसद्‌मा लिइएको थियो ?
हो, लिइएको थियो- बहसको पछिल्लो भागतिर लिइएको थियो र फरक सन्दर्भमा लिइएको थियो । विदेशमन्त्री कुरैशीले बहसका क्रममा विपक्षीहरूले 'भारतको धारणा' कै पक्षमा बोलेको आरोप लगाएका बेला मोदीको नाम आएको थियो ।

चर्काचर्की बहसका बेला, कुरैशीले विपक्षीले सशस्त्र फौजभित्र फुट ल्याउन खोजेको र उनीहरूले पाकिस्तान विरोधी विवरण दिएको आरोप लगाए । त्यसपछि सरकार समर्थकहरूले उर्दू भाषामा स्पष्ट रूपमा 'मोदीका जो यार है, गद्दार है, गद्दार है' अर्थात् मोदीका जो मित्र हुन् ती देशद्रोही हुन् भनेका थिए ।

भारतीय समाचारहरूमा भने यी कुनै पनि सन्दर्भ जोडिएको छैन । पाकिस्तानमा विपक्षी सांसदहरूले नरेन्द्र मोदीको नाम लिएका थिए भन्ने दाबीका लागि बहसको जुन भाग प्रस्तुत गरिएको छ त्यो पूर्ण रुपमा फरक सन्दर्भको हो ।

पाकिस्तानमा भएका अन्य घटनाहरूलाई पनि भारतमा गलत गरिकाले प्रस्तुत गरेका अन्य थुप्रै उदाहरण छन् । हालैमात्र, पाकिस्तानी सहर कराचीमा गृहयुद्ध सुरु भयो भन्ने समाचार भारतीय सञ्चारमाध्यममा धेरै देखिएको थियो । तर त्यो सत्य होइन । (बीबीसी)