शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

‘कुन पार्टी आधिकारिक छ भनेर सोध्‍नेहरूलाई कठैबरा बाहेक केही भन्‍न सकिन्‍नँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुन समूहलाई नेकपाको आधिकारीक भन्ने विषयको फैसला भइसकेको बताएका छन् । काठमाडौँमा आप्नो पक्षको भेलालाई सम्बोधन गर्दै ओलीले कुन चाहिँ नेकपा आधिकारीक भनेर अलमल हुनुनपर्ने बताएका हुन् । ओलीले काठमाडौँमा आफ्नो पार्टीलाई आमसभा गर्ने ठाउँ नभएको पनि बताए ।  

‘आज हामीलाई काठमाडौँमा आमसभा गर्ने ठाउँ भएन । आमसभा गर्न अरुलाई जुनै ठाउँ छाने पनि ठूलो हुन्छ हामीलाई जहाँ छाने पनि सानो हुन्छ ।  सभा गर्ने ठाउँ पुग्या छैन,’ उनले भने, ‘फेरी मान्छेहरु सोधिराख्या छन् मूल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छ भने, अन्योलमा छ भने कठैबरा बाहेक केही भन्न सकिन्न । मूलपार्टी यही हो ।’

उनले आफ्नो नेतृत्वको पार्टी नै कम्युनिष्टको, देशको मुलपार्टी भएको बताए । ‘यो कम्युनिष्ट पार्टीको मुलपार्टी मात्रै होइन देशकै मुल पार्टी हो । देश बनाउने । देशको रक्षा गर्ने, सार्वभौम सत्ता रक्षा गर्ने, स्वाधिनताको रक्षा गर्ने पार्टी हो, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो,’ उनले भने ।  

उनले अब को सक्कली को नक्कली भनेर पनि टुंगो लागिसकेको बताए । ‘आजबाट कुन पार्टी मुल पार्टी, कुन पार्टी सक्कली, कुन नक्कली भन्ने टुंंगो लाग्यो, फैसला भयो आज,’ उनले भने, ‘तपाइँहरुलाई उपस्थित हुन नदिनको लागि हिजो तथाकथित नेपाल बन्द गरियो । नेपाल बन्द गरेर के गरियो । गरिबका लागि काम गर्ने भन्ने, श्रमजीवीका काम गर्ने भन्ने तर, श्रमजीवीका लागि काम गर्ने होइन । बुढी आमाले टमाटर साग बेच्न राख्दा बाटाभरी गरेर क्रान्ति गर्न खोजियो ।’ 

उनले हिजो दाहाल नेपाल समूहले आमहड्ताल गर्दै ट्याक्सी चालकलाई ट्याक्सीभित्रै राखेर जलाउन खोजेको भन्दै आपत्ति जनाए । ‘त्यही हो उहाँहरुको क्रान्ति। एउटा गरिब ट्याक्सीवालालाई भित्रै थुनेर आगो लगाएर मार्न खोजियो । धन्न बाँच्यो । गरिब ट्याक्सी चालक जलाउन खोज्ने ?’ प्रश्न गर्दै ओलीले भने, ‘जुन क्षति भएको छ, सागसब्जी फ्याँकिएको छ ।  बदमसाी उहाँहरु गर्नुहुन्छ । हामी क्षतिपूर्ती दिन्छाैँ,’ उनले भने, ‘गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ ।  यस देशमा गरिबलाई हेर्ने, जनतालाई हेर्ने, शान्तिलाई मन पराउने सरकार छ । त्यसकारण जनता ढुक्क हुनुस् ।  

तपाइँहरुलाई यहाँ आउन नदिन नेपाल बन्द गरियो । बन्द गरेर तर्साउन खोजियो । बाटोमा खाल्डो खनियो । बम राखेर विप्लव लेख्ने काम भयो ।’