आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न सक्दैन : पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य इश्वर पोखरेलले नेकपाको आधिकारिकता प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्‍व गरेको नेकपाले  नै पाउने दाबी गरेका छन् । शुक्रबार समूहले नारायणहिटी दरबार संग्रहालयअगाडि गरेको वृहद् सभालाई सम्बोधन गर्दै नेता पोख्रेलले सूर्य चिन्‍ह पनि आफ्नै समूहले पाउने दाबी गरे ।

‘आधिकारिक कुन पार्टी हो ? आधिकारिकता कुन पार्टीले पाउँछ ? अहिले यो प्रश्‍न उठिरहेको छ,’ उनले भने, ‘म भन्‍न चाहन्छु कमरेड केपी ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न सक्दैन । यही आधिकारिक हुनेछ । सूर्य चिन्ह पनि ओलीले नेतृत्व गरेको नेकपाले पाउनेछ । यसमा कतै दुविधा नराख्नु होला । हाम्रो सूर्य चिन्ह लिएर हामी जाता जनादेशमा जानेछौं ।’

उनले जनताको स्थायित्वको चाहनालाई समाप्त पार्ने तत्व सक्रिय रहेको दाबी समेत गरे । तर त्यसलाई जसरी पनि असफल बनाउने उनले बताए । ‘हामीले मुलुकमा अराजकता अन्त्य हुन्छ भन्‍ने सोच्यौं । तर, दुर्भाग्य त्यो सोचाइविरुद्ध जाने तत्व तयार भए र स्थायित्‍वको चाहना संकटमा पार्न खोजिदैछ । अराजकता निम्त्याउने प्रयास हुँदैछ,’ उनले भने,  'तर हामी तिनलाई सफल हुन दिँदनौं । हिजोदेखिनै कसैको मृत्युमा जीवन खाेज्‍ने प्रचण्ड प्रवित्‍ति हावी भयो । त्यसैको गठबन्धन भयो ।’

उनले दाहाल–नेपाल समूहले गरेको आम हड्तालको पनि विरोध गरे । दाहाल–नेपाल समूहले गरेको आम हड्ताका क्रममा भएका विभिन्‍न क्षतिको सरकारले क्षतिपूर्ति दिने समेत उनले बताए । ‘हिजो आन्दोलनका नाममा अराजकता सिर्जना गर्नेहरूले जनतालाई दु:ख दिए । केपी ओली नेतृत्वको सरकारले सम्पूर्ण क्षतिपूर्ति दिनेछ । सम्पूर्ण क्षति सरकारले व्यहोर्नेछ’ उनले भने ।