एउटा मेटिएका तारा अर्थात मेसुट ओजिल

यो सामाजिक सञ्जालको युग हो । विश्वमै चिनिएिका जो कोहीले पनि राजनीतिक, सामाजिक विषयमा आफ्नो विचार राख्दा त्यसले सबैको ध्यान खिच्छ नै । अन्तराष्ट्रिय स्तरमा नाम कमाएका खेलाडीले गम्भीर विषयमा आफ्नो विचार राख्दा विश्वले ध्यान नदिने कुरै भएन । त्यसमाथि मेसुट ओजिल जतिका ख्यातिप्राप्त खेलाडीले के लेख्छन्, के बोल्छन् भन्ने कुराको ख्याल उनलाई सामाजिक सञ्जालमा पछ्याउने लाखौ फुटबलप्रेमीले गर्ने नै भए ।
ओजिलले एउटा गम्भीर विषयमा ट्वीट गरे । विषय थियो, चिनियाँँ उइगुर मुस्लिमको । चीनको सिनजियाङमा उइगुरमाथि गरिएको दमनका विषयमा अन्तराष्ट्रिय जगतमा केही हदसम्म चासो र बहस भइरहेका बेला ओजिल पनि त्यसमा मिसिए । उनी आफै पनि टर्किक पृष्ठभूमि भएका मुस्लिम हुन् । उइगुर जाति पनि टर्किक पृष्ठभूमिकै भएका कारण ओजिलले बोल्नु स्वभाविक भएको पनि भनियो । तर मुस्लिम बाहुल्य मुलुकहरु नै चुप रहेको बेला ओजिल किन बोले ? अनि त्यसले ओजिलको करिअरमा के-कस्तो उतारचढाव ल्यायो ? धेरै कुराहरु यो आलेखले उधिन्ने कोशिस गर्ने नै छ ।
अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त एउटा खेलाडीले राजनीतिसँग गाँसिएको विषयमा बोल्दा के कस्तो प्रतिक्रिया, नतिजाको सामना गर्नुपर्ने हुनसक्छ भन्ने कुराको अन्दाज ओजिलले गरेका थिए ? उत्तर ओजिलले नै देलान् । तर उनलाई उनका साथी तथा सल्लाहकारहरुले यो विषयमा बोल्नुअघि यसको गाम्भीर्यतामा पनि ध्यान दिनु भनेर नसम्झाएका होइनन् । अनि बोलिसकेपछि कस्तो प्रतिक्रिया आउन सक्छ भन्नेमा पनि ओजिललाई सचेत गराइएकै हो ।
चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश त हो नै । फुटबलको ठूलो बजार पनि हो । माथिल्लो स्तरमा खेल्ने खेलाडीका लागि व्यक्तिगत आय अनि लोकप्रियता बढाउन चिनियाँ बजारको आवश्यकता पर्छ । सिनिजियाङ र उइगुरसम्बन्धी टुइटले उनलाई चीनजस्तो ठूलो बजारमा अलोकप्रिय बनाउने सम्भावना थियो ।
यूरोपियन फुटबलमा चिनियाँ लगानी बढिरहेको छ । विभिन्न क्लबमा लगानी गर्नेदेखि उनीहरुलाई प्रायोजन गर्नेसम्मका कार्यमा चिनियाँँहरु अगाडि छन् । त्यसकारण, ओजिल चीनमा अलोकप्रिय हुनु भनेको चिनियाँ संलग्न क्लबहरुसँग वा संस्थाहरुसँग जोडिन नसक्ने अवस्थाको सिर्जना हुनु नै हो ।
ओजिलले चीनको लोकप्रिय सामाजिक सञ्जाल विबोमा रहेका आफ्ना ६० लाख फलोवर अनि मुलुकभर खोलिएका फ्यान क्लबमा आबद्ध ५० हजारभन्दा धेरै सर्मथक गुमाउने सम्भावना पनि जीवित नै थियो । त्यसका साथै उनको चीन गएर खेल्ने मौका पनि सदाका लागि अन्त्य हुनसक्थ्यो । पछिल्लो समय युरोपका ठुला क्लबहरु चीन गएर प्रिसिजन खेलहरु खेल्ने परिरपाटी बढिरहेको छ । तर ओजिलले चीन पुगेर खेल्न सक्ने वातावरण नहुनु, उनका लागि मात्र होइन आर्सनलकै लागि टाउको दुखाईको विषय बन्नेवाला थियो ।
विगत ४-५ वर्षमा यूरोपियन फुटबलमा चिनियाँ लगानी बढिरहेको छ । विभिन्न क्लबमा लगानी गर्नेदेखि उनीहरुलाई प्रायोजन गर्नेसम्मका कार्यमा चिनियाँँहरु अगाडि छन् । त्यसकारण, ओजिल चीनमा अलोकप्रिय हुनु भनेको चिनियाँ संलग्न क्लबहरुसँग वा संस्थाहरुसँग जोडिन नसक्ने अवस्थाको सिर्जना हुनु नै हो ।
ओजिललाई थाहा थियो कि उनले उइगुरमाथि गरिदै आएको दमनका बारेमा बोलेर गलत गरिहेका छैनन् । अनि अफवाह पनि फैलाइरहेका छैनन् । तर चीनबाट आउनसक्ने प्रतिक्रियाका बारेमा भने पूरै बेखबर भने थिएनन् । केही साताअघि मात्र एनबीए क्लब ह्युस्टन रकेट्सका जेनरेल म्यानेजर डेरिल मोरीले हङकङको आन्दोलनलाई सर्मथन गर्दै ट्वीट गरेका थिए । मोरीले चीनबाट पाएको कडा प्रतिक्रियाका बारेमा ओजिल बेखबर थिएनन् । तर ओजिल आफ्नो विचारमा प्रतिबद्ध थिए । अन्तराष्ट्रिय मिडियामा आएका रिपोर्ट अनि प्रसारित डकुमेन्ट्रीले चीनमा उइगुरको अवस्थाका बारेमा बोलिरहेकै थिए, जसले ओजिललाई क्रुद्ध बनाइरहेको थियो ।
ओजिललाई उइगुरको अवस्थाबारे बोल्नु त छँदै थियो । त्यसका साथै मुस्लिम बाहुल्य मुलुकलाई बोल्न दबाब दिनु पनि थियो । त्यसमा टर्की पनि पर्थ्यो नै । टर्कीका राष्ट्रपति रेजिप तायिप एर्डोगनसँग ओजिलको व्यक्तिगत सम्बन्ध थियो । एर्डोगन ओजिलको वैवाहिक समारोहमा उपस्थित हुने हाई प्रोफाइल पाहुना थिए । त्यसकारण पनि ओजिल, एर्डोगनले उइगुरमाथिको दमनका बिषयमा बोलुन् भन्ने चाहन्थे ।
ओजिलले उइगुरका बिषयमा ट्वीट त गरे । त्यसमा उनले पाउने कडा प्रतिक्रिया पनि अपेक्षित नै थियो । तर उनको क्लब आर्सनल पनि बीचमा तानियो । ओजिलले उइगुरमाथि भइरहेको दमनका बिषयमा बोले पनि आर्सनलले बोल्नुपर्ने ठानेको थिएन । अरु यूरोपियन क्लबले पनि सो विषयमा मुख खोलेका थिएनन् । आर्सनल पनि चुप थियो । विषय गम्भीर थियो । विश्वभर नै यस विषयमा बोल्नुपर्छ भन्ने आवाज उठिरहेकै थियो । आवाज उठाउनेमा लाखौ फुटबल सर्मथक पनि थिए । एउटा खेलाडी बोल्यो । तर उसको क्लब बोलेन । बोल्ने खेलाडी र उसको क्लबका बीच अब असमझदारी त देखिने नै भयो । तर दुबै पक्ष उत्पन्न असमझदारीमा छलफल गर्न तयार भएनन् ।
ओजिलले उइगुरका विषयमा सार्वजनिक रुपमै बोलिसकेपछि त्यसको नतिजा देखिन थाल्यो । चीनमा प्रिमियर लिग प्रसारण गर्ने सीसीटीभी र पीपी टीभीले आर्सनलले खेल्ने कुनै पनि खेल नदेखाउने घोषणा गरे । तर जब ती च्यानलहरुले आर्सनलको खेल प्रसारण गरे, कमेन्टेटरले ओजिलको नाम लिन इन्कार गरे । चिनियाँ भिडियो गेमबाट ओजिलको तस्बिर हटाइयो । इन्टेरनेटमा उनको बारेमा खोजी गर्दा इरर देखाइन थाल्यो । ओजिल चीनमा क्रमश मेटिन थाले । यो ओजिलले सामना गर्नुपरेको सबैभन्दा ठूलो प्रतिक्रया थिएन । शुरुवात मात्र थियो । उनी विस्तारै चीनबाट हराउन थाले ।
ओजिलले उइगुरका विषयमा बोलेपछि आर्सनलले त्यसमा प्रतिक्रिया नदिई नहुने अवस्था सिर्जना भयो । उसले भन्यो, ‘ओजिलले दिएको अभिव्यक्तिसँग क्लबको कुनै लिनुदिनु छैन ।’ समर्थकहरुले आर्सनललाई उइगुरमाथि चीनले गर्दै आएको व्यवहारका बिषयमा बोल्न दबाव दिदै आएका थिए । तर क्लबले ओजिलले दिएको अभिव्यक्तिबाट आफूलाई अलग्गाएपछि सर्मथकको माग त सम्बोधन भएन नै । खेलाडीमाथि नै एकखाले कारबाही गरेको सन्देश पो गयो ।
‘चीनमा र इङल्यान्डमा फुटबल सञ्चालन गर्ने विधिमा फरक छ । तर धेरै चिनियाँलाई यो तथ्य थाहा छैन । चिनियाँ फुटबलमा संघ बलियो छ । उसको लिग, क्लब र खेलाडीमाथि बलियो पकड रहन्छ । त्यसकारण खेलाडीलाई राजनीतिक विषयमा अभिव्यक्ति दिन सहज हुँदैन ।
ओजिल सामाजिक सञ्जालमा धेरै पछ्याइने खेलाडीमध्येका हुन् । उनको ट्वीटरमा २ करोड ५० लाख र इन्स्टाग्राममा २ करोड फलोअर छन् । त्यसकारण उनले गरेको ट्वीट र इन्स्टाग्रामको सिलसिलबद्ध पोस्टले आर्सनलमाथि मात्र होइन, प्रिमियर लिगमाथि नै दबाब सिर्जना गर्यो । चीन, प्रिमियर लिग प्रसारणका लागि सबैभन्दा ठूलो बिदेशी बजार हो । त्यहाँका टीभी च्यानलहरुले प्रिमियर लिग खेलहरु प्रसारण नगर्दा विश्वकै लोकप्रिय फुटबल लिगलाई करोडौं घाटा हुन्छ । शायद त्यसकै आँकलन गरेर प्रिमियर लिगले उइगुर र सिनजियाङमा बिषयमा टिप्पणी नगरेको हुनुपर्छ ।
‘चीनमा र इङल्यान्डमा फुटबल सञ्चालन गर्ने विधिमा फरक छ । तर धेरै चिनियाँलाई यो तथ्य थाहा छैन । चिनियाँ फुटबलमा संघ बलियो छ । उसको लिग, क्लब र खेलाडीमाथि बलियो पकड रहन्छ । त्यसकारण खेलाडीलाई राजनीतिक विषयमा अभिव्यक्ति दिन सहज हुँदैन । त्यसमाथि चिनियाँ लिग खेल्ने सवै विदेशी खेलाडीले चीनलाई बुझेको हुदैन,’ चीनमा स्पोर्टस मार्केटिङ कम्पनी चलाउने झे जी भन्छन्, ‘तर इङल्यान्डमा अवस्था फरक छ । त्यहाँ खेलाडीले आफूलाई मनमा लागेको बोल्न असहज मान्नु पर्दैन ।'
आर्सनल, ओजिलले दिएको बयानबाट हैरान नहुने कुरा भएन । किनभने ओजिलको बयानलाई सर्मथन गर्दा आर्सनलको चिनियाँ फुटबल बजारमा रहेको हिस्सा खोसिने सम्भावना रहन्थ्यो । आर्सनल क्लब प्रशासनले ओजिललाई आइन्दा राजनीतिक बयान नदिन भन्यो । दिनेभए पनि त्यसमा क्लबलाई नजोड्न आग्रह गर्यो । त्यसबीचमा आर्सनलले चिनियाँ नयाँ वर्षको अवसार पारेर सर्मथकहरुलाई पठाइने मर्चनडाइजमा ओजिल कतै पनि देखिएनन् । चीनसँगको तनावले अमेरिकी एनबीएले करोडौं मूल्य बराबरको व्यापार गुमायो । प्रिमियर लिगले त्यस्तो बाटो रोज्न चाहेन । ऊ सकेसम्म चीनसँग सम्बन्धित राजनीतिक बयान दिन चाहदैन थियो । तर प्रिमियर लिग सधै राजनीतिक विषयबाट टाढै रहन चाहेको भने देखिएको छैन । कतिपय सन्दर्भमा ऊ बोलेकै छ । जस्तै अश्वेत अमेरिकीको हत्या भएपछि त्यसको विरोधमा आयोजित अभियानमा ।
गत साता मात्र आर्सनल कप्तान पियर एमेरिक औबमेयाङले नाइजेरियामा प्रहरी दमनविरुद्ध जारी आन्दोलनलाई सर्मथन गर्दै ट्वीट गरेका थिए । कप्तानको ट्वीटमा ऐक्यबद्धता जनाउँदै आर्सनलले वक्तव्य जारी गर्यो । ‘कतिपय राजनीतिक तथा सामाजिक बिषयमा क्लबहरुले आफ्नो विचार व्यक्त गर्नैपर्छ । नत्र उसका सर्मथकहरुले नै क्लबमाथि प्रश्न उठाउने ठाउँ रहन्छ,’ युरोपमा ठूला क्लबहरुलाई प्रायोजनसम्बन्धी सल्लाह दिने टिम क्रो भन्छन् ।
ओजिलले राजनीतिक अभिव्यक्ति दिएर कुनै गलत काम गरेका होइनन् । तर विषय गलत छाने । कमसेकम एउटा खेलाडीका लागि । गलत यसअर्थमा, अभिव्यत्तिः दिइसकेपछि त्यसबाट आउने प्रतिक्रया थाम्न सकिने खालको हुँदैन ।
प्रिमियर लिगले ब्लाक लाइभ्स म्याटर अभियानमा सर्मथन जनाउदै गर्दा विश्व केही हदसम्म परिवर्तन भइसकेको थियो । कोभिड-१९ (कोरोना भाइरस) महामारीले तीन महिनाका लागि फुटबल नै ठप्प पारेको अवस्था थियो । क्लबहरुको आर्थिक अवस्थामै असर परिरहेको थियो । त्यसैबीच, आर्सनलले क्लबभित्र धेरै कमाइ भएका खेलाडीहरुको तलब कटौति गर्ने प्रस्ताव राख्यो । तर ओजिलले त्यसलाई अस्वीकार गरेको खबर आयो । जे होस्, त्यो विषयमा क्लब र ओजिल फरक कित्तामा उभिए ।
चीनविरुद्धको अभिव्यक्तिपछि पनि ओजिल आर्सनलको टीममा परिरहे । सन् २०२० को सुरुवाती महिनाहरुमा ओजिलको भूमिका आर्सनलमा महत्वपुर्ण नै रह्यो । आर्सनलको प्रशिक्षक हुन अन्र्तवार्ता दिन गएका मिकेल आर्टेटाले आफू ओजिलसँग काम गर्न इच्छुक रहेको बताएका थिए । आर्टेटाले आफ्ना पूर्व सहकर्मीलाई राम्रो लयमा फर्किन मद्दत गर्ने अपेक्षा गरिएको थियो । तर ओजिल र आर्टेटाबीचको सम्बन्धमा फाटो आउन समय लागेन । त्यसमा क्लबले खेलाडीलाई तलब कटौति स्वीकार गर्न दिएको दबाव पनि एउटा कारण हो ।
क्लब र खेलाडीबीच करिब छ हप्ता कुराकानी चल्यो । अन्ततः प्राय खेलाडीहरुले क्लबको प्रस्ताव स्वीकार गरे । तर ओजिलले क्लबलाई प्रश्न गर्न भने छाडेनन् । ओजिलले गम्भीर प्रश्नहरु उठाए । जस्तै, क्लबको माथिल्लो तहका कर्मचारीले पनि तलब कटौति स्वीकार गरे वा गरेका छैनन् ? खेलाडीको तलब कटौती गरेर जम्मा भएको पैसा केमा खर्च गरिने हो ? क्लबले त्यो पैसा कोरोना भाइरसका कारण आर्थिक रुपमा कमजोर बन्न पुगेका तल्लो तहका कर्मचारीहरुका लागि प्रयोग गर्ने हो होईन ? ओजिलले यी प्रश्नहरुको उचित सम्बोधन भएको अनुभूति गरेनन् । प्रशिक्षक आर्टेटाले खेलाडीहरुलाई जुम मिटिङमा क्लबले प्रस्ताव गरेको तलब कटौतीलाई स्वीकार गर्न आग्रह गरे । तर ओजिल टसमस भएनन् ।
अन्ततः जुनमा आर्सनलले खेलाडीहरुले १२.५ प्रतिशत तलब कटौति गर्ने घोषणा गर्यो । धेरैजसो खेलाडीले तत्कालै हस्ताक्षर गरे । करिब आधा दर्जन खेलाडीले भने ढिलाई गरे । तर ओजिलले भने हस्ताक्षर गरेनन् । यस्तो निर्णयले ओजिललाई आलोचित बनाउने निश्चित थियो । अथवा त्यस्तो निर्णय गर्दा उनले आफ्नो आर्सनल करिअर नै अन्त्य हुने सम्भावना नदेखेको पनि होईन । तर त्यस्तो सम्भावनाले उनको विचारलाई परिवर्तन गर्न सक्दैन थियो ।
त्यसपछि ओजिलले आर्सनलका लागि कुनै खेल खेल्न पाएका छैनन् । खेलाडीहरुलाई तलब कटौति गरेको दुई महिनापछि आर्सनलले क्लबका ५५ जना कर्मचारीहरुलाई हटाउने निर्णय गर्यो । तीमध्ये एकमा ओजिलले आफ्नो रुचि व्यक्त गरे ।
दि डायनोसर
आर्सनल र ओजिलबीचको असमझदारी बढ्दै गयो । ओजिलको चीनसम्बन्धी अभिव्यक्ति र तलब कटौति प्रस्तावको अस्विकारपछि अर्को घटनाले उनी र क्लबबीचको सम्बन्धमा थप चिसोपन ल्यायो । त्यो थियो ‘डायनोसर’ माथिको फरक विचार ।
जेरी क्वी आर्सनलमा २७ वर्षदेखि मस्कटका रुपमा कार्यरत थिए । सानैदेखि आर्सनल सर्मथक रहेका क्वी डायनोसरजस्तै देखिन, हरियो पोशाक लगाएर इमिरेट्स रगंशालामा उपस्थित हुन्थे । उनको तलब कटौतिको विषयलाई लिएर समर्थकहरुले आर्सनलको व्यापक आलोचना गरे । त्यसपछि दृश्यमा देखा परे, ओजिल । जसले तत्कालका लागि क्वीको तलब आफूले उपलब्ध गराइदिने घोषण गरे । सर्मथकहरु रगंशालामा आउने वातावरण नबनुञ्जेल क्लबको आर्थिक अवस्था नसुध्रिने र त्यसकारण तत्कालका क्वीको तलब आफ्नो गोजीबाट उपलब्ध गराउने ओजिलको भनाई थियो । जर्मन मिडफिल्डरको घोषणाले निश्चय पनि आर्सनललाई खुशी बनाएन । किनभने ओजिलले आर्सनललाई गिज्याएझै देखिन्थ्यो ।
आर्सनलले ओजिललाई बेच्न नखोजेको होइन । सन् २०१८ र २०१९ मा आर्सनलले ओजिलका लागि खरिदकर्ता खोज्ने प्रयास गर्यो । तर सफल भएन । आर्सनलले ओजिललाई जसरी भए पनि क्लबबाट निकाल्न खोजेको देखियो । खेलाडी र क्लबबीच झन दूरी बढ्दै गयो । ओजिलले बिहे गरेको धेरै भएको छैन । अहिले त उनको सानो छोरी पनि छिन् । उनी लन्डन बसाईमा खुशी देखिन्छन् । त्यसकारण पनि उनले तत्काल लन्डन छाड्न इच्छा देखाएका छैनन् । तर क्लबका धेरै सर्मथकहरु फरक तर्क राख्छन् । ओजिलले आर्सनलमा पाइरहेको तलब अन्य क्लबमा पाउन नसक्ने भएकाले, उनी त्यही बस्न खोजेको उनीहरुको तर्क छ । त्यसो त ओजिलको आर्सनलसँगको सम्झौता अर्को वर्ष सकिदैछ ।
त्यसो त आर्सनलमा ओजिलको तलब धेरै छ । पछिल्ला वर्षमा उनको मैदान बाहिर समस्या खडा गर्ने खेलाडीको छवि पनि बनेको छ । त्यसकारण पनि ठूला क्लबहरुले ओजिललाई खरिद गर्ने प्रस्ताव राख्न इन्कार गरिरहेको जस्तो देखिन्छ ।
ओजिललाई पछिल्लो समय गम्भीर आरोप लाग्दै आएको छ । उनलाई आलोचना गर्नेहरु दाबी गर्छन्, आजकल ओजिललाई खेलमा रुचि छैन । तर उनका निकटस्थहरु त्यस्तो आरोपको खण्डन गर्छन् । त्यसो त, न क्लबले न त प्रशिक्षकले ओजिलमाथि त्यस्तो आरोप लगाएका छन् । तर यूरोपियन फुटबलमा उनको खेल कौशल र प्रतिभालाई बिर्सन थालिएको भान हुन्छ । नत्र, आर्सनलले लगातार दुई वर्ष खरिदकर्ता खोज्दा पनि किन कुनै क्लबले ओजिललाई किन्ने इच्छा देखाएनन् ? कतिपयको आरोप छ, ओजिलले मैदानबाहिर धेरै समस्या खडा गरिदिन्छन् ।
अन्त्यको सुरुवात
ओजिलले आर्सनलमा विभिन्न समस्या झेलिरहेका छन् । तर उनी त्यहीं रहन चाहन्छन् । किन त ? उनी भन्छन्, 'मलाई आर्सनलप्रतिको स्नेहले यही क्लबमा रहिरहन प्रेरित गर्छ । फुटबल सरुवा बजारलाई नजिकबाट नियाल्ने एक अधिकारी भन्छन्, ‘ओजिलका लागि गएको समर विन्डोमा आर्सनल छाड्ने मौका थियो । तर कुनै प्रस्तावले पनि ओजिललाई आर्कषित गरेन ।’
त्यसो त आर्सनलमा ओजिलको तलब धेरै छ । पछिल्ला वर्षमा उनको मैदान बाहिर समस्या खडा गर्ने खेलाडीको छवि पनि बनेको छ । त्यसकारण पनि ठूला क्लबहरुले ओजिललाई खरिद गर्ने प्रस्ताव राख्न इन्कार गरिरहेको जस्तो देखिन्छ । आर्सनल, ओजिललाई ऋणमै भए पनि अर्को क्लबमा पठाउन चाहन्थ्यो । त्यो पनि उनको आधा भन्दा धेरै तलब आफैं तिरिदिएर । तर कुनै क्लबले आधिकारिक प्रस्ताव राखेको देखिएन ।
गत साता मात्रै, आर्सनल र ओजिलको सम्बन्धलाई थप प्रकाश पार्ने निर्णय बाहिर आयो । आर्सनल बिहीबार राति युरोपा लिगमा र्यापिड भियनाविरुद्ध खेल्दै थियो । ठीक त्यही बेला उसले घोषणा गर्यो, ओजिल क्लबको प्रिमियर लिग खेल्न घोषित टीमको सदस्य रहने छैनन् भन्ने । युरोपाका लागि घोषित आर्सनल टोलीमा त उनलाई राखिएको थिएन नै ।
फुटबल सरुवा बजार आगामी जनवरीसम्मका लागि बन्द भइसक्यो । त्यसकारण ओजिललाई त्योभन्दा अगाडि आर्सनल छाड्नका लागि कुनै बाटो छैन । विश्वकप विजेता उनी एले फुटबलमै निर्वासनमा बसिरहेको जस्तो देखिन्छ । उनी यो अवस्थासम्म आइपुग्नुमा दोष कसको ? शायद उनको आफ्नै । अनि आर्सनलको पनि । ओजिल, आर्सनलसँग आफ्नो सम्बन्ध बिग्रनुमा उइगुरसम्बन्धी ट्वीटलाई कारण मान्छन् । तर आर्सनल त्यो मान्न तयार छैन । जेजस्तो कारणले, आर्सनल र ओजिलको सम्बन्ध आजको अवस्थासम्म आइपुग्यो, यसको नतिजा हाम्रै अगाडि छ । ओजिल मेटिएका छन् । (न्युयोर्क टाइम्सबाट)

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया