आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

लाप्राक एकीकृत बस्ती परियोजना छिटो सक्न आग्रह

काठमाडौँ : गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक परियोजनाका संयोजक सोनाम लामाको नेतृत्वमा एक प्रतिनिधिमण्डलले माघ १९ देखि २१ गतेसम्म लाप्राक नमूना बस्ती परियोजनाको स्थलगत अवलोकन गरेको छ ।  धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, वडा नं ४ का वडाध्यक्ष राज  गुरुङ तथा लाभग्राहीसँग बाँकी काठको काम र शौचालय निर्माणसम्बन्धी काम छिटो सम्पन्‍न गरी आधिकारिक रुपमा बस्ती हस्तान्तरण गर्ने सम्बन्धमा टोलीले छलफल गरेको एनआरएनएले जनाएको छ ।

कोरोना भाइरसको कहरपछि लाभग्राहीकै अनुरोधमा आफ्नो घर आफैंँ बनाऔँ भन्‍ने भावनाका साथ हरेक कामका लागि निश्‍चित रकम तोकी लाभग्राहीलाई जिम्मा दिएको काम सन्तोषजनक नभएकाले संघले पटकपटक समयसीमा थप गर्दासमेत अपेक्षित रुपमा सम्पन्‍न हुन सकेको थिएन । परियोजना संयोजक लामाले संघले योजनाबद्ध रुपमा बस्तीको नक्शा तयार पारी घर निर्माण गरेको र ५७३ वटा एकै प्रकारका घरसहितको एकीकृत बस्ती नेपालकै पहिलो नमूना बस्ती भएकाले सबै लाभग्राही  गौरवान्वित हुनुपर्ने बताउँदै छिटो काम सम्पन्‍न गर्न लाभग्राही, गाउँपालिका तथा वडा कार्यालयको सहयोग र सहकार्य आवश्यक रहेको बताए । 

उनले समयमा बस्ती हस्तानन्तरण हुन नसकेमा एकीकृत बस्तीलाई आवश्यक पूर्वाधारका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्राप्त हुने प्रतिलाभग्राही रु चार लाख बराबरको रकम गुम्‍न सक्ने खतरा भएकाले छिटो बस्ती निर्माण गर्नुको कुनै विकल्प नरहेको बताए । उनले आधिकारिक रुपमा बस्ती हस्तान्तरणका समयमा लाभग्राहीलाई जग्गा धनीपुर्जासमेत दिन संघको पहलमा जग्गा नापी कित्ताकाट गर्ने काम सम्पन्‍न भएको र जग्गाधनीपुर्जाका लागि अवश्यक प्रक्रिया पूरा गर्न नापी कार्यालय गोरखाका प्रमुख अमृत पाण्डेसँग आवश्यक छलफल गरिएको पनि बताए ।  

छिटो काम सम्पन्न गर्न गाउँपालिका समेत अग्रसर हुनुपर्ने बताउँदै आधिकारिक रुपमा बस्ती हस्तान्तरणका लागि उपयुक्त मिति चयन गर्नसमेत लामाले अनुरोध गरे ।धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले तोकिएका समयमा काम सम्पन्‍न गर्न सबैलाई अनुरोध गर्दै समयमा काम सम्पन्‍न नगर्ने लाभग्राहीलाई  कारवाही गर्ने विषयमा गाउँपालिका र वडा कार्यालयबीच बैठक बसी छिट्टै निर्णय गरिने पनि बताए ।  रासस